Logo

महिला स्वयंसेविकाको दुखेसो: नाम र काम छ, दाम छैन



(हरिश चन्द) डडेल्धुरा २५ मंसिर । निस्वार्थ सेवा भावनाले कार्य गर्दै आएका डडेल्धुराका महिला स्वास्थ्य स्वयंसेविकाहरू सामाजिक सुरक्षाको माग गर्न थालेका छन । महिला स्वयंसेविकाले बुढेसकालका लागि सामाजिक सुरक्षाको माग गरेका हुन । स्वास्थ्य सुधारका लागि स्थानीय बासिन्दाहरुको घर दैलोमा पुग्ने महिला स्वयंसेविकाले सेवा भावनाले काम गर्दे आएको पनि बाच्नका लागि आर्थिक अभाव खेप्नपर्ने बाध्यता रहेको उनीहरु बताँउछन ।

बिहानै एक छाक खाना खाएर सामाजिक कार्यका लागि घर बाट निष्कन्छौं डडेल्धुराको अमरगढी नगरपालिका महिला स्वास्थ्य स्वयंसेविका इन्द्रा रावलले भनिन—‘साँझ पर्दा रितो हात घर फर्कन्छौं’ । हाम्रो पनि परिवार छ, खान लगाउन चाहिन्छ । त्यसका लागि सरकारले व्यवस्था गरिदिनुपर्छ । स्वास्थ्यका क्षेत्रमा समाजले कोल्टे फेरे पनि अझै महिला स्वास्थ्य स्वयंसेविकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको उनको गुनासो छ । महिला स्वयंसेविकाका लागि पैशा छुट्टयाउनु हुँदैन भनेर स्थानीय तहकै जनप्रतिनिधिले भन्ने गरेका छन भन्दै उहाँले भन्नुभयो—प्रोत्साहनका लागि समेत रकम नपाउने भए सामाजिक क्षेत्रमा खट्न गाह्रो छ ।’ परिवार नियोजनका अस्थायी साधन बोकेर स्थानीय बासिन्दाको घर दैलोमा पुग्दा समाजमा नराम्रो दृष्टिकोणले हेरिन्छ स्वयंसेविका मन्जु केसीले भन्नुभयो । ‘जनसंख्या नियन्त्रण गर्ने र सुखी परिवार बनाउनका लागि गरेको कार्य हेरिँदैन ।

समाजमा जनचेतना फैलाउने कार्यले स्वास्थ्य प्रतिको जागरुकता बढेको हेरिँदैन । समाज परिवर्तनका लागि गरिएका कार्य ओझेलमा पारिन्छ ।’ स्वास्थ्य प्रवर्द्धन गर्ने, जनचेतना फैलाउने, खोप लगाउने, मातृ र नवजात शिशु मृत्युदर घटाउने, कुपोषण हटाउने, सुत्केरी हुन स्वास्थ्य संस्था जान प्रोत्साहित गर्ने, सरुवा रोग नियन्त्रण गर्ने, व्यक्तिगत सरसफाई र वातावरण सरसफाई बारे जनचेतना फैलाउने बचन दिएका छौं स्वयंसेविका लक्ष्मी भट्टले भनिन ‘बचनवद्धता तोडेका छैनौं । दिनरात खटिएर कार्य गरेका छौं । अझै कार्य क्षेत्रमा खटिन तत्पर छौं ।

सामाजिक कार्यमा लागेपछि बुढेसकालमा बाच्नका लागि सरकाले समाजिक सुरक्षा योजनामा महिला स्वयंसेविकालाई समेत समेटनु पर्छ । महिला स्वास्थ्य स्वयंसेविकाको नाम छ, काम छ, दाम छैन’ भट्टको गुनासो छ । सुदूरपश्चिम प्रदेश सभाका सदस्य कर्णबहादुर मल्लले भन्नुभयो— महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउनका लागि अहंम भूमिका खेलेका छन । ’महिला स्वास्थ्य स्वयंसेविकाकै कारण विरामी पर्दा अस्पताल जान सिक्यौं’ उहाँले भन्नुभयो—उहाँहरूको सम्मानका लागि प्रदेश सरकारले जीवन धान्ने गरि योजना ल्याउनु पर्दछ । समृद्धि ल्याउनमा लागि स्वास्थ्य र कृषिलाई जोडेर योजना बनाउन सके मात्रै मुलुकको समृद्धी हुने उनको तर्क छ । स्वयंसेविकाले समाजमा जुन विश्वास आर्जनगर्नु भएको छ ।



प्रतिक्रिया दिनुहोस्