काठमाडौं, २६ मंसिर । काठमाडौं बालुवाटारस्थित् ललिता निवासको जग्गा आफूहरुले सुवर्ण शमशेर र कान्चन शमशेरका हकदारहरु क्रमशः रुक्मशमशेर जबरा, शैलेजा राणा, सुनिती राणा, हाटकशमशेर जबरा र हेमन शमशेर जबराबाट किनेको उक्त जग्गा धनीमध्येका एक रामकुमार सुवेदीले स्पष्ट पारेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर जग्गाधनीमध्येका एक सुवेदीले यस्तो स्पष्ट पारेका हुन् । केही समय यता उक्त जग्गाबारे कानुन व्यवसायी युवराज कोइरालाले कपोल्कल्पित, भ्रमपूर्ण र आफ्नो स्वार्थलाई केन्द्रविन्दुमा राखेर काुननी व्याख्या गरि÷गराई गरेको सुवेदीले उल्टै आरोप लगाएका छन् ।
उनले भने,‘उहाँ कानुन व्यवसायी कोइरालाजीले साविकदेखिनै सुवर्णशमशेर र कान्चन शमशेरका हकदारहरुको कानुन व्यवसायी भई यो जग्गा सम्बन्धमा मुद्दा हेर्ने, बहस पैरवी गर्ने, र दर्ता बाँकी रहेका केही जग्गा निज राणाहरुकै नाममा जुन दर्ता गराउन आफ्नै स्वहस्ताले निवेदनहरु लेखि जग्गा दर्ता, हाल साविकसमेत गराउँदै आउनुभएको छ ।’
त्यस्तै सुवेदीले युवराज कोइराला सुरुवातदेखि नै राणाजीहरुको कानुन व्यवसायीको रुपमा काम गरेको सुनाए । उनले भने,‘युवराज कोइरालजीले राणाजीहरुको तर्फबाट मोही निश्काषनको लागि सर्वोच्च अदालतसम्म मुद्दापनि लड्नुभएको हो । र, मोही निश्काषन नभएको हुँदा उहाँले राणाहरुको जग्गा बेच्ने जिम्मा लिई जग्गा किन्ने व्यक्तिहरुलाई भेटेर राणाकहाँ पुर्याउने कामपनि गर्नुभएको कुरा जगजाहेर छ । उहाँले यतिमात्रै होईन, जग्गा किन्ने व्यक्तिहरुलाई राणाजीहरुलाई भेटाउनको लागि भारतको कोलकत्तासम्म पुर्याउनुभएकै हो ।’
उक्त जग्गा किनबेचको बैनापट्टा एवम् करार निज युवराज कोइरालाकै हस्ताले लेखिएको पनि सुवेदीले जनाए । तर, उक्त जग्गा सरकारी भनेर काुनन व्यवसायी युवराज कोइरालाले गलत र भ्रमपूर्ण समाचार दिएकोप्रति पनि सुवेदीले आपत्ति जनाए ।
त्यस्तै सुवेदीले निज युवराज कोइरालाले भक्तपुर जिल्ला अदालतमा सरकारी छाप किर्ते मुद्दामा परेको र उक्त मुद्दामा बयान गर्दा आफू राणाको वकिल भएको पनि बयान गरेको जानकारी दिए ।
कोइरालाले ललिता निवास क्याम्पभित्रका मोहीहरुलाई निश्काषन गर्न नसकेपछि राणाजीहरुको जग्गा विक्रि गर्ने जिम्मासमेत लिएको सुवेदीले खुलासा गरे । उनले थपे,‘कोइरालाजीले जग्गा किन्ने मान्छेहरुलाई यो जग्गा राम्रो छ र किन्नुहोस् भनेर कन्भिन्स समेत गराउनुभएको हो । र, आफ्नै हातले बैना, पट्टा र करारनामासमेत लेखी जग्गा किनबेचको व्यवस्था मिलाउनुभएको प्रमाण हामीसँग छ ।’
आफूहरुले वि.सं. २०६० सालमा उक्त जग्गा रााणाहरुसँग किनेको दाबी गर्दै सुवेदीले भने,‘युवराज कोइरालाले ललिता निवास क्याम्पभित्रको जग्गा साविक पोता लगत हा. नं ४५६ को करिब २७२ रोपनीबाट भिड्ने जग्गा दर्ता गर्न राणाजीहरुको तर्फबाट कानुन व्यवसायी भई निवेदन लेखी कारवाहीमा गएको र पछि यीनै युवराज कोइरालाले आफ्नो नेतृत्वमा यो जग्गा सरकारको भन्नु कहाँसम्मको नैतिकता हो ? मलाई प्रश्न गर्न मन लागेको छ।’
त्यस्तै सुवेदीले जग्गाधनी मध्येका एक डा. शोभाकान्त ढकालसँग निज युवराज कोइरालाले पटक–पटक पैसा लिएको र नतिर्ने गरेकाले लेनदेन मुद्दा काठमाडौैं जिल्ला अदालतमा चली पैसा तिर्नुपर्ने ठहर भई फैसला भएको पनि सुनाए । साथै, निज युवराज कोइरालाले डा. ढकालको नाममा तथानाम बोल्ने र लेख्ने गरेकोमा गाली बेईज्जती मुद्दासमेत काठमाडौं जिल्ला अदालतमा दायर भएको र निजलाई गाली बेइज्जीत पनि ठहर भई क्षतिपूर्तिसमेत तिर्नुपर्ने फैसला भएको सुवेदीले जानकारी दिए । उनले भने,‘निज कोइरालालाई रकमसहित तिर्नुपर्ने सजायपनि भएको छ ।’
बालुवाटारको जग्गा सम्बन्धमा कोइरालाले जे÷जति बोलेका छन् त्यसमा कुनै पनि सत्यता र वास्तविकता नरहेको सुवेदीले दाबी गरे । उनले भने,‘उक्त ललिता निवासको जग्गा राजनीतिक कारणले वि.सं. २०१८ सालमा विशेष परिस्थिति नियन्त्रण ऐन लगाई जफत एवम् रोक्का सरकारले गरेको थियो । र, २०४६ सालमा बहुदल आएपछि मन्त्रिपरिषदको निर्णयको आधारमा जफत एवम् रोक्का फुकुवा भएको हो।’
ललिता निवासको जग्गा सुवर्ण शमशेर र कान्चन शमशेरका हकदारहरुले फिर्ता पाएको र फिर्ता पाएसँगै उक्त जग्गाबारे मोही निश्काषनको मुद्दा हालेको र मोही निश्काषन नहुने ठहर भएको र उक्त मुद्दा सर्वोच्च अदालतमा गई अन्तिम फैसला भएको र यस मुद्दामा निज युवराज कोइराला राणाको तर्फबाट कानुन व्यवसायी भएको पनि सुवेदीले जनाए ।
ललिता निवासको जग्गा मन्त्रिपरिषदको निर्णयबाहेक अन्य कतैबाटपनि जग्गा दर्ता नभएको र मन्त्रिपरिषदको निर्णयहरुको आधारमा राणाहरुले जग्गा फिर्ता पाएको, विशिष्ट व्यक्तिहरुको परिसर विस्तारको गुरुयोजना सम्पन्न भएको र गुठीको जग्गा जति गुठीकै नाममा कायम भएको पनि सुवेदीले जनाए ।
उनले भने,‘यसरी मन्त्रिपरिषदका निर्णयहरुको आधारमा भएको कामलाई अन्य व्यक्तिहरुलाई जोडी अनर्गल प्रचार गर्ने निज युवराज कोइरालाको मनशाय देखिन्छ । यसप्रति हाम्रो आपत्ति छ ।’
ललिता निवास क्याम्पभित्रको जग्गा सवोच्च अदालतमा पुगी पुर्ण ईजलाशबाट अन्तिम फैसला भईसकेको र अख्तियार दुरुपयोग निवारण आयोगबाट समेत कारवाही भई टुँग्गिएको सुवेदीले जानकारी गराए ।