Logo

गुरुकुल सञ्चालनका लागि महायज्ञ



काठमाडौँ,२७ मंसिर । तनहुँको दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयले गुरुकुल सञ्चालनका लागि आर्थिक अभाव भएपछि महायज्ञ आयोजना गर्ने भएको छ । गुरुकुल सञ्चालनार्थ रकम जुटाउने उद्देश्यले विद्यालयले यही मङ्सिर २९ गतेदेखि पुस ७ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन गर्न लागेको हो ।

विद्यालयका प्रधानाध्यापक तुलसीशरण सिग्देलले आर्थिक अभावमा गुरुकुल सञ्चालनका लागि समस्या भएकाले महायज्ञमार्फत अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

विद्यालयले गत वर्षदेखि सञ्चालन गरेको गुरुकुलमा ५५ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको आवासदेखि खानपानको व्यवस्था विद्यालयले नै गर्दै आएको छ । गुरुकुल सञ्चालनका लागि महर्षि फाउण्डेशनले मासिकरूपमा रु ५५ हजार उपलब्ध गराउँदै आए पनि आर्थिक अभाव रहेको सिग्देलले बताउनुभयो । उहाँका अनुसार गुरुकुल सञ्चालनका लागि मासिक रु एक लाख १० हजारभन्दा बढी खर्च हुने गरेको छ ।

“हालसम्म मुठ्ठीदानबाटै गुरुकुल सञ्चालनको खर्च व्यवस्थापन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यसलाई दिगो बनाउन अक्षयकोष स्थापना गर्ने र अक्षयकोषबाट यसलाई सञ्चालन गर्ने उद्देश्य राखेका छौँ । महायज्ञबाट न्यूनतम रु ५० लाख सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।”

नियमित गौसेवा, भगवत्पुजन, रुद्राभिषेक, भावातीत ज्ञान, योग, १०८ बटुकका लागि अत्यावश्यक आवास तथा भोजन व्यवस्थापन गर्ने उद्देश्यसमेत विद्यालयले राखेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद सोतीले बताउनुभयो ।

विद्यालयको रजतजयन्ती वर्ष समापन, २६ औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसर पारेर ज्ञानमहायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञको अवसरमा नै एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान, पूर्वशिक्षक एवं कर्मचारीलाई सम्मान, विद्यालय व्यवस्थापन समितिका सदस्य र पूर्वसदस्यलाई सम्मान, चन्दादाता, सहयोगदातालाई सम्मानलगायतका कार्यक्रमसमेत सञ्चालन हुनेछ ।

साथै भागवत पूजाअर्चना, रुद्राभिषेक, सप्तशती, वेदादी पाठपारायण, ग्रहशान्ति, जप, नित्यवहन, श्रीमद्भागवत कथा प्रवचनलगायतका कार्यक्रम सञ्चालन हुने विद्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्