काठमाडौँ,२८ मंसिर ।नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ ।
निर्वाचनमा मुख्य प्रतिस्पर्धा लोकतान्त्रिक समूह र प्रगतिशील समूहका उम्मेदवारबीच हुँदैछ । लोकतान्त्रिक समूहबाट केन्द्रीय कार्यकारिणी समितिमा इञ्जिनीयर प्रा हीरेन्द्रमान शाक्य अध्यक्ष पदका उम्मेदवार रहेका छन । सो समूहबाट उपाध्यक्षमा इ डा चन्द्रिकाप्रसाद भट्ट, महासचिवमा इ अभिमन्युलाल सिंह, उपमहासचिवमा इ अशोककुमार शाह, कोषाध्यक्षमा इ अपिल केसी र सहकोषाध्यक्षमा इ जानुका थापा चुनावी मैदानमा रहेका छन ।
प्रगतिशील समूहबाट अध्यक्षमा प्रा डा त्रिरत्न बज्राचार्य, उपाध्यक्षमा इ आषिश घिमिरे, महासचिवमा इ छविलाल पोखरेल, उपमहासचिवमा इ कपिल आचार्य, कोषाध्यक्षमा इ रामइकवाल यादव, सहकोषाध्यक्षमा इ चाँदमाला श्रेष्ठ उम्मेदवार छन ।दुवै समूहले व्यावसायिक हकहितका बारेमा घोषणापत्र पनि जारी गरेका छन् ।
घोषणापत्रमा गुणस्तरीय इञ्जिनियरिङ शिक्षा, इञ्जिनीयरको सेवासुविधा तथा क्षमताको अभिवृद्धि, सम्मानजनक रोजगारी, इञ्जिनीयरिङ सम्बद्ध निजी क्षेत्रको विकास र हकहितसहित विविध विषयहरु उठाइएका छन् ।दुवै समूहले प्रदेशस्तरमा पनि समूहगत नै उम्मेदवार उठाएका छन् । बिहान ८ बजे शुरु भएको मदतान अपरान्ह् ५ बजेसम्म निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ ।फोटोःमुकुन्द कालीकोटे