काठमाण्डौ,२८ मंसिर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले समृद्ध मुलुक निर्माणका लागि उत्पादनमूलक उद्योगमा लगानी आवश्यक रहेको बताएका छन ।
उद्योग व्यापार सङ्घ गोलबजारका निर्वाचित पदाधिकारीको पदस्थापन तथा शपथग्रहण कार्यक्रमलाई आज सम्बोधन गर्दे मन्त्री यादवले व्यापारले मात्र देश समृद्ध नहुने भएकाले उत्पादनमूलक उद्योग सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे । “बाहिरबाट सामान ल्याएर बेच्ने कामले मात्र मुलुक बन्दैन, आफैँले उत्पादन नगरेसम्म अवस्थामा फेरबदल आउँदैन्,” उनले भने । उत्पादनमूलक उद्योग सञ्चालनका लागि सरकारले सहयोग गर्ने मन्त्री यादवले प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सङ्घीयता अझै सङ्क्रमणकालीन अवस्थामा रहेको र कर्मचारीले सङ्घीयतालाई आत्मसात् गर्न नसकेको आरोप लगाए । प्रदेश नं २ मा दुई हजार १८१ कर्मचारीको आवश्यकता भए पनि अहिलेसम्म २५१ कर्मचारी मात्र कार्यरत रहेको उनले बताएका थिए ।रासस