Logo

काङ्ग्रेस महासमिति बैठकमा हिन्दू धर्मको विषयले प्रवेश पाउँदै



काठमाडौँ,२ पुस । बैठक परिसरमा वैदिक सनातन हिन्दु राष्ट्र निर्माणका लागि हिन्दू राष्ट्रको एजेण्डा बनाउन हस्ताक्षर सङ्कलन अभियानसमेत शुरु भएको छ ।

अभियानमा हालसम्म करीब ७०० महासमिति सदस्यले हस्ताक्षर गरिसकेको सो अभियानका अभियन्ता दिवस ढुंगेलले जानकारी दिए । बैठकमा पनि महासमिति सदस्यबाट काङ्ग्रेसले हिन्दू राष्ट्रको एजेण्डामा छलफल गर्नुपर्ने आवाज बढ्दै गएको छ । डोल्पाका महासमिति सदस्य देवीकृष्ण न्यौपानेले ८१ प्रतिशत हिन्दू धर्मालम्बी भएको मुलुकको संविधानमा धर्म निरपेक्ष भनी उल्लेख गर्नु उचित नभएको तर्क गर्दै महासमिति बैठकमा यस विषयले छलफलका लागि स्थान पाउनुपर्ने माग गरेका छन।

बाराका महासमिति सदस्य मदन मण्डलले पार्टीमा गुटउपगुटको अन्त्य गर्न नेतृत्वको नियत परिवर्तन हुनुपर्ने बताए । बाँकेका महासमिति सदस्य निरञ्जन सिजापतिले हिन्दू राष्ट्रलाई छोडेर मुलुक धर्म निरपेक्षतामा जानु उचित नभएको टिप्पणी गरेका थिए।

झापाका भरतेन्दु मल्लिकले विधान मस्यौदा प्रतिवेदन बैठकमा छिटो पेश गरे मात्र आवश्यक छलफल गर्न सकिने धारणा व्यक्त गरे। सर्लाहीका महासमिति सदस्य कल्पना माया पाख्रिनले जनसङ्ख्याअनुसार पार्टीका हरेक निकायमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत हुने व्यवस्था गर्न माग गरे ।

इलामका महासमिति सदस्य विष्णु दाहालले नेतृत्वबाट कार्यकर्तालाई समान व्यवहार नहँुदा पार्टीले निर्वाचनमा हार व्योहोर्नुपरेको जनाए । रामेछापका महासमिति सदस्य लक्ष्मण बस्नेतले संविधानमा हिन्दू राष्ट्रको स्थानमा धर्म निरपेक्षता षडयन्त्रपूर्वक आएको उल्लेख गर्दै यसमा पुनःविचार हुनुपर्ने धारणा व्यक्त गरे ।

महासमिति बैठकमा अन्य विभिन्न चार विषयका प्रस्तावमाथि भने महासमिति सदस्यले आ–आफ्ना धारणा राख्नेक्रम जारी छ । शुक्रबारदेखि शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रस्तावमाथि छलफल जारी छ । शनिबार उद्घाटनपछि बन्दसत्र शुरु भएको हो ।

‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ शुरु भएको महासमिति बैठक पुस ४ गतेसम्म चल्नेछ । प्रवक्ता शर्माका अनुसार बैठकमा संसदीय निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य गरी झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी छन् ।

पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठकमा खास गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी नेतृत्वको कमजोरीका कारण पार्टीले हार व्यहोर्नुपरेको भन्दै सहभागीले गुटउपगुट अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउन सुझाव दिएका छन । रासस



प्रतिक्रिया दिनुहोस्