Logo

मौलिक पहिचान जोगिने गरी पुनःनिर्माण गर्न सुझाव



काठमाडौँ,४ पुस । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुनःनिर्माणका क्रममा काठमाडौँलगायतका जिल्लामा रहेका सम्पदा तथा बस्तीको संरक्षण गर्न सुझाव दिनुभएको छ । पुनःनिर्माण जिल्ला समन्वय समिति काठमाडौँको आज बसेको बैठकमा उहाँले मौलिक पहिचान जोगिने गरी पुनःनिर्माण गर्न सुझाव दिनुभएको हो । उहाँले स्थानीय तहमा पुनःनिर्माणको जिम्मेवारी आएसँगै निपूणताको परीक्षण हुने बताउनुभयो ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पुनःनिर्माणमा स्थानीय तहको व्यापक परिचालनको औपचारिक थालनी भएको धारणा राख्दै संविधान तथा ऐनमा परिभाषित जिम्मेवारीअनुसार आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राष्ट्रिय पुनःनिर्माणको संस्थागत स्मरण, ज्ञान तथा अनुभवलाई स्थानीय तहमा हस्तान्तरण गर्न पुनःनिर्माणमा स्थानीय तहलाई अझ व्यापकरुपमा सहभागी गराउँदै लगिएको जानकारी गराउनुभयो ।

उहाँले अनुदानको किस्ता वितरण, पहिलो किस्ता लिएर घर बनाउन नसकेका लाभग्राहीको पहिचान गर्न, उनीहरुलाई घर निर्माणमा प्रोत्साहन गर्न, गुनासो सम्बोधन गर्न र झुठा विवरण दिएर अनुदान लिएकाबाट रकम फिर्ता गराउनेलगायतका कार्यमा स्थानीय तहका पदाधिकारीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

बैठकले जिल्लास्तरमा पुनःनिर्माण कार्यमा समन्वय एवं सहजीकरण गर्न समन्वय समिति प्रमुखको अध्यक्षतामा जिल्ला सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको छ । सो समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, मालपोत कार्यालयका प्रमुख, नापी कार्यालयका प्रमुख, कोलेनिका प्रमुख, पुनःनिर्माण प्राधिकरणका शिक्षा, भवन र पुरातत्वका आयोजना प्रमुख एवं बैंकका प्रतिनिधि सदस्य रहनेछन् । समितिको सदस्य सचिवको जिम्मेवारी जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुखलाई दिइएको छ ।

समितिको बैठक प्रत्येक महीना बसी पुनःनिर्माणसम्बन्धी गतिविधिको समीक्षा गर्ने र आवश्यक सहजीकरण गर्ने, स्थानीयस्तरको पुनःनिर्माण कार्यको समन्वय एवं सहजीकरण गर्न काठमाडौँ महानगरपालिका र सबै नगरपालिकामा स्थानीय पुनःनिर्माण समन्वय समिति गठन गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकमा काठमाडौँ जिल्लाबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद, प्रदेशसभा सदस्य, जिल्लाका महानगरपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता थियो । रासस



प्रतिक्रिया दिनुहोस्