Logo

इच्छाशक्ति भएमा गाउँगाउँमा विकास गर्न सकिनेः मुख्यमन्त्री पौडेल



काठमाडौँ,४ पुस । विकासका लागि आवश्यक बजेट भएकाले इच्छाशक्ति भएमा गाउँगाउँमा विकास गर्न सकिने प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ ।

मध्य धादिङको सिद्धलेक गाउँपालिका–४ बुङचुङमा बुधबार गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले गाउँगाउँमा बजेट पठाएकाले विकास बजेट सदुपयोग गर्न आग्रह गर्नुभयो । प्रदेश नं। ३ सम्भावना, सम्पत्ति र स्रोत भएकाले पैसाको मात्र आवश्यकता नभइ इच्छाशक्ति भए जनताले अनुभव गर्नेगरी विकास गर्न सकिने बताउनुभयो । “हामी हिरा नचिनेर फलाम खोजिरहेको” बताउँदै उहाँले सबै नागरिक मिलेर उत्पादनतर्फ लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं। ३ का मन्त्री शालिकराज जम्मकट्टेल, सांसद खेमप्रसाद लोहनी, प्रदेशसभा सदस्य भूमि त्रिपाठीलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो । सिद्धलेक गाउँपालकाले १५ रोपनी क्षेत्रफलमा सबै शाखा अट्नेगरी रु १ करोड ८७ लाख ७९ हजार ८४८ को लागतमा भवन निर्माण गरेको प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्