Logo

रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज



काठमाडौँ,६ पुस । रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ ।

चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म दिनुभएकी भेरी नगरपालिका– ३ की प्रतिभा थापाको रक्तस्राव नरोकिएपछि तारा एयरलाइन्सको जहाजमार्फत रुकुमको चौरजहारीबाट आज बिहान नेपालगञ्ज ल्याइएको उहाँका श्रीमान् पदम थापाले जानकारी दिनुभयो ।

अहिले प्रतिभाको उपचार जारी रहेको उहाँले बताउनुभयो । रु दुई लाख तिरेर जहाज चार्टर गरिएको थियो । बिहीबार मात्र जाजरकोट ल्याइएकी प्रतिभाको रातिदेखि रक्तस्राव शुरु भएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि ज्यान बचाउन जहाज चार्टर गर्नुपरेको थापाले बताउनुभयो ।

पचास श्याको जाजरकोट अस्पताल भए पनि विशेषज्ञ चिकित्सक र उपकरणको अभावमा सधैँ यहाँका स्थानीयवासी महङ्गो शुल्क तिरेर नेपालगञ्ज, काठमाडौँमा उपचारका लागि आउन बाध्य भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्