Logo

इङ्लिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी र चेल्सी पराजित



काठमाडौं, ८ पुष । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र चेल्सी पराजित भएका छन् । उपाधि दावेदार म्यान्चेस्टर सिटीलाई क्रिस्टल प्यालेसले ३–२ ले हराउँदा चेल्सीलाई लेस्टर सिटीले १–० ले पाखा लगायो ।

गएराति म्यान्चेस्टर युनाईटेडले भने कार्डिफ सिटीलाई ५–१ ले हराएको छ । जोजे मौरिन्होलाई बर्खास्त गरी ओले गुना सोल्सायरलाई अन्तरिम प्रशिक्षक बनाएपछिको पहिलो खेलमा म्यान्चेस्टर युनाईटेडले फराकिलो जित निकालेको हो ।

खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन जेस्सी लिङ्गार्डले दुई गोल गर्दा मार्कस रास्फोर्ड, एण्डर हरेरा र एन्टोनी मार्टियलले एक–एक गोल गरे ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा आर्सनलले बर्न्लेमाथि ३–१ को जित निकाल्यो । खेलमा आर्सनलका लागि पिएरे एमरिक औबामायङ्गले दुई गोल गर्दा अलेक्स ईओबीले १ गोल थपे ।

गएराति भएका अन्य खेलमा बर्नमाउथले ब्राईटनलाई २–० ले हराउँदा साउथह्याम्पटनले हडर्सफिल्ड टाउनलाई ३–१ ले तथा वाट्फोर्डले वेष्ट ह्याम युनाईटेडलाई २–० ले हराएका छन् । न्यूकासल युनाईटेड र फुल्हमले भने गोलरहीत बराबरी खेलेका छन् ।

गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १८ खेलबाट ४८ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ४४ अंक छ भने एक खेल कम खेलेको टोटनह्याम हट्सपर ३९ अंकसहित तेस्रो स्थानमा छ ।

चौथो स्थानको चेल्सी तथा पाँचौ स्थानको आर्सनलले समान ३७ अंक जोड्दा छैटौं स्थानको म्यान्चेस्टर युनाईटेडको २९ अंक छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot