काठमाडौं, ८ पुष । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा रोमालाई हराउँदै शीर्ष स्थानको युभेन्टसले ८ अंकको अग्रता लिएको छ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसले १७औं खेलमा रोमालाई १–० ले हराउँदै १६औं जित निकालेको हो। युभेन्टसको जितमा खेलको ३५ औं मिनेटमा मारियो मान्जुकीले निर्णायक गोल गरे।
क्रिष्टियानो रोनाल्डोले तीन पटकसम्म गोल गर्ने प्रयास गरे पनि रोमाका गोलरक्षक रोबिन ओल्सेनले रोकिदिए। लिगका १७ खेल सकिँदा युभेन्टसले १६ मा जित र एक बराबरीसहित ४९ अंकसहित शीर्ष स्थानमा कायमै छ।
दोस्रो स्थानको नापोलीको समान खेलबाट ४१ अंक भएको छ। तेस्रो स्थानमा रहेको इन्टरमिलानको ३३ अंक भएको छ।