Logo

‘कांग्रेसको विधान पछ्याउन नेकपा बाध्य हुन्छ’



काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको विधानलाई नेपाल कम्युनिस्ट पार्टीले पनि पछ्याउन बाध्य हुने जिकिर गरेका छन् । महासमितिको बैठककाबारेमा जानकारी दिदै सञ्चारकर्मीसँगको कुराकानिमा प्रवक्ता शर्माले बैठकबाट पारित विधानलाई नेकपा र अन्य दलहरुले पनि पछ्याउने दावी गरेका हुन् ।

प्रवक्ता शर्माले भने,‘कांग्रेसले बनाएको विधानलई पछ्याउन कम्युनिस्ट पार्टी पनि बाध्य हुनेछ, संविधानमा भएका ब्यवस्था अरु राजनीतिक दलले व्यवस्थापन गर्नुअगाडी कांग्रेसले गरेको छ, हामीले लागू गछौं अनि अरुले पछ्याउनेछन्।’ प्रवक्ता शर्माले कांग्रेसको विधानमा संविधानमा उल्लेखित ८ वटा जातीय क्लस्टर बमोजिम पदाधिकारी निर्वाचित गर्ने व्यवस्था गरिएको बताए । उनले भने,‘कांग्रेसको रुपान्तरणले अन्य राजनीतिक दल र सिंगो देश लाभान्वित हुनेछ ।’

फरक प्रसँगमा प्रवक्ता शर्माले कांग्रेसलाई कम्युनिस्टले धर्मको विषयमा पाठ नपढाउन सुझाएका छन् । उनले भने,‘धर्मको विषयमा कम्युनिस्टले कांग्रेसलाई सिकाउन जरुरी छैन्, यो सुहाउँदा पनि सुहाउँदैन ।’

उनले अघि थपे,‘धर्मको सन्दर्भमा कम्युनिस्ट पार्टीका मित्रहरु जो द्वन्द्वात्मक भौतिकवाद पढेर हुर्किनु भएको छ, उहाँहरुले धर्म अफिम हो भनेर वाल्यकालमै जीवन सुरुवात गर्नुभएको छ, उहाँहरुले धर्म कर्म संस्कार र संस्कृतिको विषयमा कांग्रेसलाई पढाइरहनु पर्ने जरुरी छ र ?’

शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्रका विषयमा चर्चा हुनु दु:खद भएको टिप्पणी गरेका थिए । प्रचण्डको टिप्पणीको जवाफमा प्रवक्ता शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्