Logo

मैथिली सम्मेलन सम्पन्न



जनकपुरधाम, ९ पुस । दशबुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै सोह्रौँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आइतबार यहाँ सम्पन्न भयो ।सम्मेलनले नेपालको प्रदेश नं १ र २ मा प्रदेशस्तर र स्थानीय तहका सरकारी, अर्धसरकारी र गैरसरकारी कार्यालयमा मैथिली भाषालाई कामकाजको भाषा घोषणा गर्नुपर्ने माग गरेको घोषणापत्रमा उल्लेख छ ।

नेपालका विद्यालयका पाठ्यक्रममा प्रारम्भिक बाल शिक्षा केन्द्रदेखि कक्षा १२ सम्ममा १०० पूर्णाङ्कको एउटा पत्र मातृभाषा अनिवार्य गर्नुपर्ने र प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्म अनिवार्य रूपले मातृभाषाका माध्यमले शिक्षण र विद्यार्थी मूल्याङ्कनको व्यवस्था हुनुपर्ने आवश्यकता सम्मेलनले औँल्याएको छ ।

घोषणापत्रमा नेपालको प्रदेश नं १ र २ मा मुख्य कार्य क्षेत्र कायम गरी देशभर मैथिली भाषाको संरक्षण र सम्वद्र्धनका लागि मैथिली अकादमीको स्थापना गर्नुपर्ने, मैथिली भाषामा पत्रकारिता गर्नेलाई वृत्ति विकासको व्यवस्थाका साथै विद्युतीय सञ्चारमाध्यमलाई राजकीय संरक्षणको टड्कारो उल्लेख छ ।

लोकसेवा आयोगसहित सबै सेवा आयोगमा परीक्षाको माध्यममा मातृभाषा मैथिलीलाई पनि मान्यता दिनुपर्ने, नेपालको संविधान २०७२ मा व्यवस्था गरिएको भाषा आयोगलाई पूर्णता दिँदै आयोगमा मैथिली भाषाका विज्ञलाई समानुपातिक रूपमा समावेशको माग सम्मेलनले गरेको छ ।

प्रदेशस्तरमा शोधकेन्द्रको स्थापना र मैथिली शोधवृत्तिको व्यवस्था, नेपालको संविधानमा एउटा अनुसूचीको व्यवस्था गरी नेपालका समृद्ध भाषालाई सूचीकृत गर्नुपर्ने र पर्यटकीय प्रवद्र्धनका लागि मिथिला पर्यटन सर्किट निर्माणको खाँचो घोषणापत्रमा उल्लेख गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot