Logo

निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं



काठमाडौं १० पुस ।
निर्मला पन्त बलात्कार तथा हत्या घटनाको अनुसन्धानका क्रममा पक्राउ परेर हिरासत मुक्त भएका विशाल चौधरीलाई उपचारका लागि काठमाण्डौ लगिएको छ । हिरासतमा रहँदा प्रहरीले दिएको यातनाका कारण मानसिक समस्या देखिएपछि सोमबार उपचारका लागि काठमाडौं लगिएको हो ।

शनिबार महेन्द्रनगरमा आफन्तको जिम्मा लगाइएका उनी डराउने, बर्बराउने र राती सुत्न नसक्ने समस्या देखिएको बिशालका बुवा वीरबहादुरले बताए। ‘रातभरि दुख्यो भनेर सुत्दै सुत्दैन’ उनले भने, ‘एक्लै बस्न डराउँछ, फेरी पनि कसले के पो गर्छ भनेर डराइरहन्छ।’ उनका अनुसार ढाड, पेट, छाती, हात र खुट्टामा भित्रि चोट भएका कारण रातभरी सुत्न नसक्ने अवस्था रहेको छ।

सोमबार उनलाई आफन्तसँग उपचारका लागि काठमाडौं पठाइएको हो। प्रहरीले यातना दिएको र भित्र भनेका कुरा बाहिर नभन्नु भनेका कराण उनी अझै पनि डराइरहेका छन्। निर्मलाको न्यायका लागि आन्दोलनरत नागरिक संघर्ष समितिको पहलमा उनलाई सोमबार साँझ काठमाडौं पठाइएको हो।

‘फेरी पनि धम्की आइरहेको छ, कतै कुरा भने ठिक हुँदैन भन्छन्’ वीर बहादुरले भने, ‘हामी त काम गरि खाने कसलाई के भन्नु।’ उनले भित्रि रुपमा रहेको चोटको पनि स्वास्थ्य परीक्षण गरिने बताए। अनुसन्धानका क्रममा जो आए पनि कुटपीट गरेर जाने गरेको कुरा छोराले बताएको उनले जानकारी दिए।

यसैबीच अनुसन्धानका क्रममा हिरासतमा लिइएका बिशाललाई यातना दिएको विषयमा बिशालका बुवा वीर बहादुरले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। उनले फ्याक्समार्फत आयोगको क्षेत्रीय कार्यालय धनगढीमा उजुरी पठाएका हुन्।

उजुरीमा मंसिर १९ गते पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा शारीरिक र मानसिक यातना दिएर अपराध कबुल गर्न लगाएको कुरा उल्लेख छ। यसैगरी मंसिर २० मा काठमाण्डौं पठाएर त्यहाँ पनि बयानमा आफुले भनेको कुरा नै भन्नु भनेर यातना दिएको कुरा उल्लेख छ।

‘निर्मलाको हत्या मैले नै गरेको हुँ भन्नु भनेर हतकडी लगाई आँखामा कालोपट्टी बाँधेर कुटपीट गरेको कुरा छोराले हिरासतमुक्त भएपछि रुँदै भनेका छन्’ उजुरीमा उल्लेख छ, ‘जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र काठमाडौंमासमेत यातना दिएको हुँदा कार्यलय प्रमुखलाई बुझी अनुसन्धान गरिपाउँ।’

घटनाको अनुसन्धानका क्रममा प्रहरीले मंसिर २० मा काठमाडौं लगेका विशाललाई शनिबार वालवालिका सहायता केन्द्रमार्फत आफन्तको जिम्मा लगाइएको थियो। आफन्तको जिम्मा लगाएका बेला पनि विशालले आफुलाई अपराध स्वीकार भन्दै यातना दिएको बताएका थिए। कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot