Logo

देश गरीब भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिन्छः अध्यक्ष दाहाल



काठमाडौँ,१० पुष । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिने बताएका छन ।

भरतपुर महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उनले सजिलै हुने काममा पनि समस्या पार्ने गरेको बताएका हुन ।

चितवनबाट नवलपरासी जोड्ने गोलाघाट पुल बन्न नसकेको प्रसङ्ग कोट्याउँदै उनले अन्तर्राष्ट्रिय नियम कानूनका कारण पुल बन्न रोकिएको जानकारी दिए। गोलाघाट पुल विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ ।

दाहालले भने,“देश गरीब भएपछि सजिलै हुन सक्ने काम पनि पूर्णविराम लगाएर दुःख दिने काम हुँदो रहेछ ।” गरीब र पछाडि परेको हुनाले अन्तर्राष्ट्रिय नियम कानून भएका नभएका हामीलाई लागेको भन्दै उनले देश सम्पन्न भएमा यस्ता ऐन कानूनले रोक्न नसक्ने बताए । “अहिले देशमा संविधान जारी भएर बलियो सरकार बनेपछि अब विस्तारै सकारात्मक वातावरण बनेको छ । समृद्धिको यात्रामा प्रतिबद्ध भएर लाग्नुपर्छ ।” उनले भने ।

चार वर्षभित्र नारायणी, राप्ती र रिउमा तटबन्धनसहित चक्रपथ निर्माणले जिल्लाको मुहार फेरिनेपनि उनले जानकारी गराए । चितवनले पर्यटकीय विकासको दृष्टीकोण गुणात्मक प्रगति हासिल गर्ने चरणमा पुगेको भन्दै अध्यक्ष दाहालले चार वर्षभित्र विश्वभरबाट चितवनलाई हेर्न पर्यटक आउने वातावरण निर्माण हुने बताए छन ।

चितवनको सबै बाटाहरु कालोपत्रे हुन्छन्, उनले भने “नारायणी, राप्ती, र माडीको रिउ नदीमा तटबन्धनसहितको रिङरोड बहुवर्षीय योजनामा निर्माण गर्ने निणर्य भएको छ । यो कामले पूर्णता पाउन साथ चितवनको मुहार फेरिन्छ ।”

जिल्लामा उद्योगधन्दा र कलकारखानाको स्थापना भएसँगै जिल्लाले सिङ्गै देश विकासको नमुना प्रस्तुत गर्ने उनको भनाई रहेको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमकुमार श्रेष्ठ, प्राचार्य दुर्गाप्रसाद सापकोटालगायतले आफ्नो भनाई राखेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्