काठमाडौँ,११ पुस । संयुक्त राष्ट्रसङ्घको अगुवाईमा भएको यमन युद्धविराम पश्चात् पनि १० जना सरकारी सेना मारिएको र एकसय ४३ जना घाइते भएको साउदी गठबन्धनका एकजना वरिष्ट अधिकारीले बताएका छन् ।डिसेम्बर १८ मा यमनको होडेडालाई लक्षित गरी युद्धबिराम लागू भएयता सरकारी पक्षका सेना मारिएको खबर पहिलोपटक सार्वजनिक भएको हो ।
आफ्नो नाम नबताउने शर्तमा ती अधिकारीले इरान समर्थित हुथी विद्रोहीले एकसय ८३ पटक युद्धबिराम उल्लङ्घन गरेको जानकारी दिए। “दुर्भाग्य नै भन्नुपर्छ हुथी विद्रोहीको व्यवहार भडकाउ किसिमको छ र उनीहरु कसैप्रति जवाफदेही देखिएका छैनन् ।”तर उनले यमन सरकारको समर्थन गरिरहेको साउदी गठबन्धनले प्रतिक्रियास्वरुप कारबाही नगरेको र युद्धबिराम भएदेखि हालसम्म कुनै हवाई हमला वा अन्य कारबाही नगरेको बताएका छन ।
संयुक्त राष्ट्रसङ्घको निकै ठूलो प्रयत्नपश्चात् भएको युद्धबिराम निकै तरल अवस्थामा छ । दुबै पक्षले एकअर्का बिरुद्ध युद्धबिराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।अवकाशप्राप्त डच जनरल प्याट्रिक कामार्टको नेतृत्वमा सरकारी र विद्रोही हुथीका प्रतिनिधि सम्मिलित अनुगमन समितिले युद्धबिरामको अनुगमन गर्न थालिसकेको छ ।
कामार्ट विद्रोहीको कब्जामा रहेको राजधानी सानाबाट आइतबार होडेडा पुगिसकेका छन । एडेनमा उनले सरकारी अधिकारीहरुसँग भेटवार्ता गरेको जनाईएको छ।साउदी गठबन्धनले होडेडामा कामार्ट पुगिसकेकामा सन्तोष व्यक्त गरेको छ । “हामी कामार्टलाई सहयोग गर्न तत्पर छौं । हाम्रो विश्वास छ उहाँ सफल हुनुहुनेछ,” साउदी गठबन्धन आबद्ध ती अधिकारीले बताए।
संयुक्त राष्ट्रसङ्घका अनुसार, कामार्टले बुधबार नै संयुक्त समितिको बैठकको अध्यक्षता गर्ने कार्यक्रम रहेको छ । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले युद्धबिरामको अनुगमनका लागि अनुगमनकर्ताहरु होडेडा पठाउने बारेमा सर्वसम्मत निर्णय गरेको थियो । राष्ट्रसङ्घीय अनुगमन टोलीले होडेडाबाट विद्रोही लडाकूहरु अन्यत्र स्थानान्तरित भएको अनुगमन गर्नेछ ।
होडेडा बन्दरगाह शहर हो, र यहाँबाट यमनका विभिन्न स्थानमा खाद्यान्न तथा अन्य आवश्यक वस्तुहरुको आपूर्ति हुने गर्दछ ।साउदी गठबन्धनले सन् २०१५ देखि हवाई कारबाही थालेयता यमनमा १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौं मानिस विस्थापित भएका छन् । साथै, यमनको गृहयुद्धका कारण डरलाग्दो मानवीय सङ्कट उत्पन्न भएको अन्तर्राष्ट्रिय संघसंस्थाले जनाएका छन् ।एजेन्सीको सहयोगमा