Logo

संसदमा देउवाको प्रश्न : वाइडबडी प्रकरणको वास्तविकता के हो ?



काठमाडौं, ११ पुस । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वाइबडी प्रकरणको यथार्थ के हो भन्दै प्रश्न सोधेका छन् । उनले यस प्रकरणको बास्तविकता सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन् ।

आजबाट सुरु भएको संसदको हिउदे अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले यस्तो चूनौति दिएका हुन् । उनले भने,‘वाइडबडी प्रकरणको वास्तविकता के हो ?, यो सबैकुरा जनताले थाहा पाउनुपर्यो। यसको सत्यतथ्य बाहिर ल्याउनुपर्छ। यो बाहिर नल्याए सरकारलाई हामी त्यत्तिकै छोड्नेवाला छैनौँ।’

देउवाले मुलुकमा शान्तिसुरक्षा र न्याय दिलाउने सवालमा सरकार असफल भएको बताए । उनले शान्तिसुरक्षा जताततै खल्बलिएकोे अवस्थाले मुलुकमा सरकार नरहेको अनुभूत भइरहेको आरोप लगाए । उनले भने,“शान्तिसुरक्षाको स्थिति के छ, सबैलाई थाहा छ, देशभर हत्या र बलत्कारको घटना भएका छन्, दोषीलाई लुकाउन खोजिएको छ, होइन भन्ने हत्यारा किन पत्ता लगाउन सकिएको छैन, कुनै व्यक्ति विशेषलाई जबर्जस्ती फसाउने काम भएको छ ।”

सङ्घीयता कार्यान्वयनसम्बन्धी कानून निर्माणमा सरकारले चासो नदिएकाले सङ्घीयतासम्बन्धी कुनै कानून बन्न नसकेको पनि देउवाको आरोप छ । उनले भने,“सरकारले दलित, मधेशी, आदिवासी जनजातिलाई विश्वासमा लिन सकेको छैन, मधेशको मुद्दालाई सम्बोधन गर्ने पाटोमा सरकार उदासीन छ ।”

डा गोविन्द केसी लगायतसँग सम्झौता गर्ने कार्यान्वयन नगर्ने कुराले सरकार संविधान पालना गर्दैनन् भन्ने स्पष्ट भइसकेको जनाउँदै देउवाले भने, “सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन सरकारको तत्परता छैन ।”

विवादित संस्थाले आयोजना गरेको कार्यक्रमलाई सरकारले सघाएको पनि उनले आरोप लगाए । उनले भने,“सरकार र राज्यको कुनै धर्म हुन्छ ? त्यो घटनाले सरकार कता जाँदैछ भन्ने स्पष्ट भएको छ, आफ्नो सरकारको पालामा ल्याइएको सामाजिक सुरक्षाको कार्यक्रमलाई मैले ल्याएको भन्न मिल्छ ?”



प्रतिक्रिया दिनुहोस्