काठमाडौं, पुस ११। २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पहरुले पुर्याएको क्षतिको पुनर्निर्माण र पुनर्थापना सम्बन्धी फोटो प्रदर्शनी काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरू भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको तेस्रो वर्ष पूरा भएको उपलक्ष्यमा आयोजना गरिएको तीन दिने फोटो प्रदर्शनको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शुभारम्भ गरे।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना, यूरोपियन युनियनको सहयोग र फोटो पत्रकार क्लब, नेपाल (पिजे क्लव) को सहकार्यमा आयोजित यस फोटो प्रर्दशनी पुस १३ गते साँझ ५ बजेसम्म चल्नेछ।
भूकम्पले पुर्याएको क्षतिको स्मरण, पुनर्निर्माण तथा पुनर्थापनासम्बन्धी भएका गतिविधि तथा कार्यहरू झल्काउन र ती कार्यबाट प्रभावितहरुले कसरी लाभ लिन सकेका छन् भन्ने देखाउनु यो फोटो प्रदर्शनीको मुख्य उद्धेश्य रहेको पिजे क्लबका अध्यक्ष विकास कार्कीले रिपोर्टस नेपाल डटकमलाई जानकारी दिए ।
प्रदर्शनीको शुभारम्भ गर्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले फोटो प्रदर्शनीले भूकम्पपछि पुनर्निर्माण र पुनर्थापनाका क्षेत्रहरुमा भइरहेका वास्तविक कामहरु जनतासमक्ष पुर्याउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।
विभिन्न चार खण्डमा विभाजित प्रदर्शनीमा भूकम्प प्रभावित जिल्लाका गरी करिब १०० वटा फोटोहरु राखिएको छ । पहिलो खण्डमा भूकम्पबाट पुगेको क्षति पश्चात्को अवस्थालाई सामना गर्न भूकम्प प्रभावित व्यक्तिले कसरी एक–अर्कालाई सहयोग गरेका थिए भनेर देखाइएको छ ।
दोश्रो खण्डमा भूकम्पपछिको जटिल अवस्थाबाट पुनर्निर्माण र पुनस्र्थापनामा मानिसहरू आएको चरणलाई देखाइएको छ, जसमा निजी आवास पुनर्निर्माण, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन, साँस्कृतिक सम्पदा लगायतको पुनर्निर्माण, उत्पादक क्षेत्र, कृषि र पर्यटन क्षेत्रमा भइरहेका पुनर्निर्माण तथा पुनस्र्थापना, विद्युत, यातायात र खानेपानी, सरसफाई लगायतका क्षेत्रमा भएका कार्यहरुलाई समेटिएको छ ।
तेश्रो खण्डमा भूकम्पबाट क्षति पुगेका संरचनाहरूको अवस्था र पुनर्निर्माणपछि तिनीहरूको अवस्था सम्बन्धी करिब दुई दर्जन तस्वीरहरू राखिएका छन् । चौथो खण्डमा पुनर्निर्माण र पुनस्र्थापनाका विभिन्न चरणमा भइरहेका कार्य तथा गतिविधिसँग सम्बन्धित डकुमेन्ट्रीहरू प्रदर्शन गरिएको छ।
तस्विर : मुकुन्द कालिकोटे