प्रकाश सिलवाल : भेरीगङ्गा (सुर्खेत), १८ पुस : बाहिर कठ्याङ्ग्रिँदो ठण्डी । भित्र बाफिलोे गर्मी । लगातार काम गर्दा खल्खल्ती पसिना आउनु स्वभाविकै हो, त्यो भन्दा बढी ज्यानकै जोखिम मोलेर राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना पूरा गर्न प्रविधिज्ञ र मजदूर खटिइरहेका छन् ।
सुरुङभित्र हरेक दिन दिउँसो १ देखि बिहान ७ बजेसम्म र बिहान ७ देखि साँझ ७ बजेसम्म गरी दुई समूहमा प्रविधिज्ञ र कर्मचारी खटिएका छन् । कामको समयमा खानपिन भित्रै हुन्छ तर, नियमित मेसिन चलाउनुपर्ने भएकाले उनीहरुलाई बोल्ने फुर्सद हुँदैन ।
आयोजनाको सुरुङमार्ग निर्माण कार्यमा खटिरहेका चिनियाँ प्रविधिज्ञ र मजदूर आफ्नो सिफ्टको काम सकिएपछि बाहिर आएर क्याम्पमा आराम गर्छन् । उनीहरु थकान बिर्सेर कठिन जिम्मेवारी पूरा गर्न दत्तचित छन् ।
भेरी नदीको पानी सुर्खेत र बर्दियाको सिमानामा अवस्थित बबई नदीमा खसालेर विद्युत् उत्पादनसँगै बाँके र बर्दियाका ५१ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पु¥याउने लक्ष्यका साथ सुरुङ निर्माण भइरहेको छ ।
आयोजनाका निर्देशक सञ्जिव बरालका अनुसार सुरुङमा ६०० नेपाली कामदार र ८० चिनियाँ प्रविधिज्ञ छन् । उनीहरु समूह विभाजन गरेर काम गर्छन् । करीब १२ किलोमिटर सुरुङ खन्नुपर्ने आयोजनाको अहिलेसम्म १० किलोमिटर १५० मिटर सुरुङ खनिइसकिएको छ । यो प्रगति ८२ प्रतिशत हो । निर्देशक बरालले रासससँग भन्नुभयो – “सोचेभन्दा राम्रो गतिमा काम भइरहेको छ । अबको तीन–चार महीनामा टनेलको ब्रेक थ्रु हुनेछ ।”
‘चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुप’ ले ठेक्कामा निर्माण गरिरहेको उपकरणले दैनिक ५१ मिटरका दरले सुरुङ खनिरहेको आयोजनाले जनाएको छ । यसले हालसम्म एक दिनमा सबैभन्दा बढी ६२ मिटरसम्म खनेको छ । उपकरण ठेकेदार कम्पनीले नै भाडामा ल्याएको हो । उक्त उपकरणले चट्टान काटेर सिमेन्टको डब्बा फिट गर्नाका साथै एकैपटक खनिएको माटो बाहिर फाल्ने गर्छ । सामान सानासाना रेलको डिब्बामार्फत भित्र बाहिर गरिन्छ । मेसिन चलाउँदा दैनिक २० हजार लिटर डिजेल र ४ दशमलव ८ मेगावाट बिजुली आवश्यक पर्छ । नेपालमा यस्ता काममा ‘ड्रिल एण्ड ब्लाष्ट’ विधि अपनाइन्छ ।
आयोजनाका इञ्जिनीयर हरिप्रसाद खनालका अनुसार चीनबाट भारतको कोलकातासम्म समुद्रबाट ल्याइएको सो मेसिन पाटपुर्जा खोलेर नेपालमा ५६ वटा ट्रकमा राखेर ल्याइएको थियो । दुई सय ७४ मिटर लामो मेसिनको कुल तौल एक हजार ५६ टन छ । बाटामा पर्ने नेपाली पुलहरुको क्षमता कमजोर हुँदा मेसिन ल्याउँदा पुल भत्कने खतरा रहेपनि दुर्घटना टरेको थियो । नेपाली पुलहरुको क्षमता एक पटकमा २० टनभन्दा कम मात्र बोक्न सक्ने खालका छन् ।
नेपालमै पहिलो पटक प्रयोग गरिएको विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टिबिएम) चलाउन एक पटकमा कम्तीमा ६० जना कर्मचारी र प्रविधिज्ञ चाहिन्छ । टिबिएमले सोचेभन्दा तीव्र गतिमा काम गरिरहेको देखेर सरकारी निकायका प्रतिनिधि र आयोजनाका कर्मचारी जति सन्तुष्ट छन्, त्योभन्दा बढी खुशी छन् आयोजनाबाट लाभ लिने बाँके, बर्दिया र आसपास क्षेत्रका किसानहरु ।
राष्ट्रिय गौरवको यो आयोजनामा पहिलो पटक जोखिम मोलेर प्रयोग गरिएको ठूलो प्रकारको मेसिन टिबिएमले सोचेभन्दा बढी मात्रामा प्रगति गरेपछि आगामी दिनमा चट्टान क्षेत्र र चुरे पहाडमा सञ्चालन हुने यस्ता डाइभर्सन र बहुउद्देश्यीय आयोजनामा यो उपकरणको प्रयोग उपयुक्त र सहज हुने देखिएको छ ।
नेपालमा वर्षेनी बगेर खेर जाने २२५ बिलियन मिटर क्युब पानीमध्ये भेरी नदीको ४० एमक्युएस पानी बबईमा खन्याएर बिजुली र सिँचाइको आवश्यकता पूरा गर्ने आयोजनाको लक्ष्य छ । कुलेखानीमा पानी सिञ्चित गरिए झैँ यो आयोजनामा पनि पानी सिञ्चित गरी बिजुली उत्पादन हुनेछ । हाल बबई सिँचाइ आयोजनाले सो क्षेत्रमा ३६ हजार हेक्टर जमीनमा मात्र सिँचाइ गरिरहेको छ ।
राष्ट्रिय योजना आयोगले प्रकाशन गरेको आर्थिक वर्ष २०७३÷७४ को प्रतिवेदनमा त्यस वर्ष लिइएको लक्ष्यमा ९६ दशमलव १ प्रतिशत भौतिक प्रगति देखाएको छ । आर्थिक वर्ष २०६८÷६९ शुरु भई आर्थिक वर्ष २०७७÷७८ मा सम्पन्न हुने लक्ष्य लिइएकामा त्यसअघि नै सकिने देखिएको छ । आयोजनाले कृषि उत्पादन बढ्न गई ३ दशमलव १ अर्ब अप्रत्यक्ष र २ दशमलव १ अर्ब रुपैयाँ अप्रत्यक्ष आम्दानी हुने अनुमान गरिएको छ ।
जलविद्युत् आयोजना बनाउने गरी कुल लागत रु ३३ अर्ब रहेको आयोजनाअन्तर्गत टनेलका लागि रु १० अर्ब ५६ करोड बजेट विनियोजन गरिएको छ । ऊर्जा, सिँचाइ, शहरी विकास र जलाधार संरक्षणलाई एकसाथ योगदान दिन सुर्खेत, बर्दिया र बाँके जिल्लामा कार्यान्वयन भइरहेको यो आयोजनामार्फत छिन्चु–जाजरकोट सडक खण्डको चिप्लेमा करीव १५ मिटर अग्लो बाँध बाँधी भेरी नदीको पानी बबईमा ल्याइनेछ ।
सिञ्चित क्षेत्रबाट प्रतिहेक्टर प्रतिवर्ष ७२ श्रम दिन बराबर रोजगारी सिर्जना भई गरिबी निवारणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौँबाट ५६२ किलोमिटर दूरीमा पर्ने यो आयोजनाअन्तर्गत बबईमा ४८ मेगावाटको लजविद्युत् आयोजना बन्नेछ । सुर्खेतकोे भेरीगङ्गा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ ।
विद्युत् उत्पादनका लागि चिप्लेमा हेडवक्र्स र हात्तीखालमा विद्युत् गृह बनाउन बोलपत्र आह्वानको प्रक्रिया अघि बढिसकेको बरालले जानकारी दिनुभयो ।
साविक मध्यपश्चिमाञ्चल क्षेत्रमा खाद्यान्न सङ्कटको समाधानमा मद्दत पु¥याउने र उत्पादित ऊर्जाको खपत गरी आर्थिक विकासमा सहयोग पु¥याउने आयोजनाको लक्ष्य छ । आयोजना निर्माण कार्य हेर्न दैनिक सर्वसाधारण र विषयगत विद्यार्थीहरु पुग्ने गर्छन् भने आयोजनाले पालो मिलाएर काममा अवरोध नहुने गरी उनीहरुलाई सुरुङ अवलोकनको प्रवन्ध गर्दै आएको छ ।