Logo

शून्य विद्यार्थी, आठ प्राध्यापक



काठमाडौं २० पुस । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इतिहास केन्द्रीय विभागमा ८ जना प्राध्यापक कार्यरत छन् । तर यो विभाग एक वर्षदेखि विद्यार्थी शून्य छ । ८ जना प्राध्यापकको तलबका लागि त्रिविले वार्षिक पचास लाख रुपैयाँ भन्दा धेरै रकम खर्च गरिरहेको छ । त्रिविले प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकको मासिक तलब सुविधा अधिकतम क्रमशः ५४ हजार, ४९ हजार र ४३ हजार रुपैयाँ तय गरेको छ । विभागको वार्षिक प्रशासनिक खर्च नौ लाख रुपैयाँ छ ।

विद्यार्थीबाट उठाएको रकमबाट प्रशासनिक खर्च चल्थ्यो । विद्यार्थी नै नभएपछि यो खर्च कसरी धान्ने भन्ने चिन्ता विभागलाई छ ।

विभागका प्रमुख शंकर थापाले भने, ‘प्राइभेट विद्यार्थीको थेसिस हेर्ने र नयाँ विद्यार्थी कसरी ल्याउने भन्ने योजना बनाएर दिन बित्छ ।’

विभागमा विद्यार्थी नभएको यसपटक मात्र होइन । २०७३ मा एक, २०७२ मा दुई र २०७१ मा ६ जना विद्यार्थी भर्ना भएका थिए । २०६९ मा ९३ विद्यार्थी भर्ना भएका थिए ।

‘केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने वर्ष परेका कारण चुनाव लड्न विद्यार्थी भर्ना भएका रहेछन्’, विभाग प्रमुख थापाले भने, ‘चुनाव सकिए पछि थुपै्र विद्यार्थीले भर्ना हुँदा तिरेको रकम फिर्ता गरिदिन अनुरोध गर्दै निवेदन दिन आए । भर्ना हुँदा तिरेको पैसा फिर्ता दिन नमिल्ने बतायौं । त्यसपछि त विद्यार्थी आउनै छाडे ।’

यो विभागले २०१७ सालदेखि स्नातकोत्तर तहको पढाइ सुरु गरेको हो । कीर्तिपुरमा रहेको विश्वविद्यालयकै संस्कृत केन्द्रीय विभागमा पनि २०७३ सालदेखि नयाँ विद्यार्थी भर्ना भएका छैनन् । अहिले ते श्रो सेमेष्टरमा चारजना विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीलाई दुईजना प्राध्यापक, दुईजना सहप्राध्यापक, एकजना उपप्राध्यापक र एकजना आंशिक शिक्षक गरी ६ जनाले अध्यापन गराइरहेका छन् । प्रशासन शाखामा दुई कर्मचारी कार्यरत छन् ।

विभाग प्रमुख प्राध्यापक डा.नारायणप्रसाद गौतमले भने, ‘यो वर्षदेखि योगा विषयको पढाइ सुुरु गर्दैछौं । नयाँ विषय भएकोले यो वर्षदेखि विद्यार्थी आउने आशा गरेका छौं ।’

हिन्दी, भूगोल, बौद्ध दर्शनलगायतका विभाग पनि विद्यार्थी शून्यकै अवस्थामा छन् । त्रिविले केन्द्रीय क्याम्पस कीर्तिपुरमा २०७० सालदेखि स्नातकोत्तर तहमा सेमेष्टर प्रणाली लागू गरेपछि विद्यार्थी शून्य भएका हुन् ।

विद्यार्थी घटेसँगै त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकाय संकटग्रस्त बनेको छ । प्राध्यापक-कर्मचारीलाई दिनुपर्ने तलबका कारण त्रिवि आर्थिक बोझले थलिएको छ । मानविकीमा विद्यार्थी आकर्षित गर्ने उपायबारे त्रिविले प्रभावकारी योजना बनाउन सकेको छैन ।

त्रिविअन्तर्गत चारवटा अनुसन्धान केन्द्र छन् । विद्यार्थी आकर्षण घट्नुको कारण चालु विषयलाई लोकप्रिय बनाउन के गर्नुपर्ला भन्ने बारेमा केन्द्रमार्फत अनुसन्धान भएको छैन । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्