Logo

घरेलु उत्पादनमा आधुनिकीकरण ल्याउनुपर्छः मुख्यमन्त्री भट्ट



काठमाडौँ,२३ पुस । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले साना तथा घरेलु उद्योगबाट उत्पादन भएका वस्तुको आधुनिकीकरण गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ प्रदेश महिला उद्यमी समितिले आज धनगढीमा आयोजना गरेको महिला उद्यमशिलता, औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी मेलाको उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले साना तथा घरेलु उद्योगबाट उत्पादन गरिने वस्तुलाई आधुनिकीकरण गर्न नसके ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न नसकिने जिकिर गर्नुभयो ।

घरेलु तथा साना उद्योग दर्ता प्रक्रियासम्बन्धी ऐन नियमलाई सहज बनाउन प्रदेश सरकार तत्पर रहेको मुख्यमन्त्री भट्टले बताउनुभयो । सङ्घकी अध्यक्ष रुकमणि देवकोटाले जिल्लामा भएका साना तथा ठूला उद्योगले उत्पादन गरेका वस्तुको पहिचान र प्रवद्र्धनका लागि मेलाको आयोजना गरिएको जानकारी गराउनुभयो ।

आजबाट शुरु भई यही २९ गतेसम्म चल्ने मेलामा २०० व्यापारिक कक्ष रहेका छन् । मेलामा घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, कृषि प्रदर्शनी, रमाइलो मेलासँगै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने जनाइएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्