Logo

राष्ट्रिय परिचय पत्र आधुनिक युगको प्रतीक



काठमाडौँ,२३ पुस । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले राष्ट्रिय परिचय पत्रले आधुनिक युगको प्रतीकात्मक प्रतिनिधित्व गर्ने बताउनुभएको छ ।

मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको राष्ट्रिय परिचय पत्र व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यशालालाई सम्बोधन गर्दै उहाँले उक्त अभियानमा हरेक नागरिक सहभागी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय परिचय पत्र हरेक नागरिकको सुरक्षित र आधिकारिक अभिलेख भएको उल्लेख गर्नुभयो ।

सरकारले चालू आवमा कर्णाली प्रदेशका जुम्ला र सल्यानमा राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम शुरु गर्न लागेको छ । सो मन्त्रालयले १६ वर्ष उमेर पूरा गरेका नागरिकको वैयक्तिक एवं जैविक सूचनासहितको आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचय पत्र वितरणको अभियान सञ्चालनमा ल्याएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियाले राष्ट्रिय परिचय पत्रको अभियानले समुन्नत समाजको परिकल्पना गरेको बताउनुभयो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक महेशविक्रम शाहले सबै परिचय पत्रको मूल पत्रका रुपमा राष्ट्रिय परिचय पत्रको अवधारणा आएकाले सो अभियानसँग हरेक नागरिक जोडिनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय अधिकारी दुर्गाप्रसाद चालिसेले सरकारी कर्मचारी प्रविधिमैत्री बन्न नसके अभियान प्रभावकारी रुपले अघि बढ्न नसक्ने धारणा राख्नुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्