काठमाडौं, २४ पुस । सत्तारुढ दल दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले भोलि सदन सूचारु हुने स्पष्ट पारे । उनले भने,‘संसद भोलि सूचारु हुन्छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले यसबारेमा भोलि निर्णय लिन्छ ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सदनलाई मर्यादित बनाउने कुरामा दुईमत नरहेको बताउँदै कांग्रेसले भोलि संसद नरोक्नेपनि विश्वास दिलाए । उनले भने,‘सदन सुचारु हुन्छ । सदन समस्याको समाधान गरेर अघि बढ्छ ।’
उनले वर्तमान सरकारले अहिले ‘गियर–चेन्ज’ गरेको पनि दाबी गरे । सरकार यतिवेला पूर्ण रुपमा विकास र समृद्धिमा केन्द्रित रहेको उनले जनाए । उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले भनेजस्तो समृद्ध नेपाल र सुखी नेपाली नारालाई पूरा गर्नको लागि सरकार विकास निर्माणका काममा केन्द्रित भएर लागिपरिरहेको छ ।’
भट्टराईले सरकारले राम्रो काम गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध भ्रम सिर्जना गर्ने काम गरिरहेको पनि गुनासो पोखे । उनले भने,‘कांग्रेसले बरु रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्छ । म साथीहरुको यतातिर ध्यान केन्द्रित गर्न चाहन्छु ।’
सरकारले विकास निर्माणका कामहरु द्रुत गतिमा अघि बढाईरहेको पनि उनले सुनाए । त्यस्तै वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्धहरु पनि सुमधुर बनाएको उनले सुनाए । उनले भने,‘नेपाल कसैको अहितमा छैन । नेपाल नेपालको हितमा छ ।’