Logo

मेक्सिकोको सीमाक्षेत्रमा सुरक्षा र मानवीय सङ्कट: ट्रम्प



काठमाडौँ,२५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा सुरक्षा र मानवीय सङ्कट बढेको बताएका छन ।बढ्दो मानवीय तथा आप्रवासी सङ्कट समाधान गर्न मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणका लागि बजेटको व्यवस्था गर्नुपर्ने विषयमा विवाद उत्पन्न भएपछि राष्ट्रपति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका हुन ।

अमेरिकी संसदले पर्खाल निर्माण कार्य “अनावश्यक र बढी खर्चिलो” भन्दै राष्ट्रपति ट्रम्पले माग गरेको करिब ६ अर्ब अमेरिकी डलर पारित नगरेपछि बजेटमाथिको विवाद कायमै छ । राष्ट्रपतिले बजेट पारित नभए बजेट नै स्वीकृत नगर्ने अडान राख्दै आएका छन ।

संसद र राष्ट्रपतिका अडानका कारण विगत १८ दिनदेखि सङ्घीय कार्यालयहरु बजेट अभावमा आंशिक बन्द भएका छन् । करिब ८ लाख कर्मचारीलाई बिदामा पठाइएको छ ।

राष्ट्रपति ट्रम्पले मङ्गलबार राष्ट्रपतिको कार्यालय ओभल अफिसबाट देशवासीको नाममा दिएको टेलिभिजन सम्बोधनमा भने, यो सङ्कट हृदयको अनुभव हो, त्यसैले समाधानका लागि उचित उपायको विकल्प छैन, यो सबैको सङ्कट हो ।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीका कारण अमेरिकी समाजमा विकृति र विसंगति निम्तिएको, हत्याहिंसा बढेको, लागूऔषध भित्रिएको, अमेरिकी नागरिकको रोजगारी खोसिएको लगायतका समस्या देखिएको बताएका छन ।

विगतको तुलनामा केही नरम देखिएका राष्ट्रपति ट्रम्पले भने, “मैले संसदका नेताहरुलाई छलफलका लागि भोलि नै ह्वाइट हाउसमा आमन्त्रण गरेको छु । आशा गर्दछु, राष्ट्रिय सुरक्षाका सन्दर्भमा हामी राजनीतिक स्वार्थभन्दा माथि उठ्न सक्षम हुनेछौं । यो परिस्थितिको अन्त्य ४५ मिनेटको छलफलबाटै हुन सक्दछ ।” मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनु नै उत्तम हुने कुरामा जोड दिँदै राष्ट्रपति ट्रम्पले यस पर्खालको निर्माणबाट मात्रै अमेरिकी सीमाको सुरक्षा हुने दाबी गरेका छन।

राष्ट्रपतिको सम्बोधन लगत्तै टेलिभिजनमार्फत् सम्बोधन गर्दै विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूले अमेरिकी सङ्घीय कार्यालयहरु बन्द राखेर नागरिकलाई बन्धक बनाएको बताएका थिए ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी र माथिल्लो सदन सिनेटमा अल्पमतका नेता चक सुमरले पर्खालका लागि राष्ट्रपतिले माग गरेको रकम अनावश्यक रहेको दाबी गरेका छन। दुबै नेताले राष्ट्रपतिले तत्काल सङ्घीय कार्यालयहरु खुला गर्नेतर्फ कार्य गर्नुपर्नेमा जोड दिएका थिए ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्