Logo

चक्रपथ सफाई अभियान ९२ औं हप्तामा, ऋषि धमला उत्रिए मैदानमा



काठमाडौं, २८ पुस । काठमाडौंको चक्रपथ सफाई अभियान आज ९२ औं हप्तामा प्रवेश गरेको छ । काठमाडौंको बसन्धुरास्थित् ग्रिनसिटी हस्पिटलको आयोजनामा उक्त सरसफाई अभियान सञ्चालन भैरहेको छ । यस अभियानको संयोजन भने अस्पतालका अध्यक्ष एल.बी टण्डनले गरिरहेका छन् ।

‘हामी चक्रपथ सरसफाई सक्छौं, सक्छौं, सक्छौं’, ‘हामीले नगरे कसले गर्ने ?’, ‘अहिले नगरे कहिले गर्ने ?’, र ‘हाम्रो अभियान जारी छ, जारी छ’ भन्ने मूल नारासहित सफाई अभियान जारी छ ।

आज शनिबार विहानै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला सरसफाईमा जुटेका थिए । पत्रकार धमला डोको बोकेर चक्रपथका फोहोर उठाउन जुटेका थिए । सफाई अभियानलाई सम्बोधन गर्दै पत्रकार धमलाले भने,‘यो अभियानलाई सार्थक बनाउनको लागि पहिला घरबाटै सुरु सफाई गर्नुपर्छ । फोहोर घरमै व्यवस्थापन गर्नसक्नुपर्छ ।’ उनले गाउँ र टोल सफा राख्नुपर्नेमा जोड दिए ।

काठमाडौंमा दुर्गन्धित शहर देखेर विदेशी पर्यटकहरु नाक, मुख छोपेर हिँड्नुपरेको अवस्थाबाट अब मुक्त गराउनुपर्ने उनको धारणा छ । उनले थपे,‘काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले यसतर्फ अब विशेष ध्यान पुर्याउनुपर्छ ।’

सफाई अभियान राष्ट्रिय गानबाट सुरु भएको थियो । सफाई अभियानमा नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सामाजिक अभियन्ताहरुले साथ दिँदै आएका छन् ।

तस्विर : आकाश गौतम 



प्रतिक्रिया दिनुहोस्