काठमाडौँ,२९ पुस । बागलुङ भित्रने जो कोहीले बुट्टेनलीका बारेमा जिज्ञासा राखेकै हुन्छन् – यो के हो रु कसरी बनाइन्छ रु तर, यसको स्पष्ट जवाफ जिल्लाका अधिकाँशसँग छैन । संस्कृति र परम्परा जोडिएका यी बुट्टेनली हातले कुँदेर तयार पारिन्छ । बागलुङको पहिचानका रुपमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा प्रख्यात रहे पनि पुस्तान्तरण नहुँदा यो कला लोप हुने अवस्थामा छ ।
बुट्टेनली बनाउने स्थानीय कलाकारहरु घट्दै जानु र कच्चा पदार्थ सहज रुपमा उपलब्ध नहुनु बुट्टेनली लोप हुनुको मुख्य कारण रहेको संस्कृतिकर्मीहरु औँल्याउँछन् । बागलुङ जिल्लाको परिचय दिँदा बुट्टेनलीको जिल्ला भनेर पनि उल्लेख गर्ने गरिए पनि नयाँ पुस्ताको उदासीनताका कारण बुट्टेनली सङ्कटमा परेको हो ।
बागलुङमा बाहिरवाट आउने पर्यटक तथा पाहुनाले सम्झनाको चिनोस्वरुप किनेर लाने बुट्टेनली बनाउने कलाकार तथा बुट्टेनली बनाउन प्रयोग हुने निगालो बाँसको अभाव सँगै बुट्टेनली लोप हुने अवस्थामा पुगेको हो ।
काष्ठकला कुद्न सिपालु कलाकारले निगालो बाँसको नलीमा ऐतिहासिक व्यक्तिका चित्र, जङ्गली जनावर, मयूर, फूल, पौराणिकदेखि आधुनिक कालका सांस्कृतिक झलक र प्राकृतिक सुन्दरतालाई कलात्मक तरीकाले कुँदेर तयार पारिएको बाँसलाई बुट्टेनली भनिन्छ । मसिना बाँस वा निगालोमा विभिन्न चित्र र प्रारुप उतार्दै तयार पारिने यस्ता बुट्टेनली अहिले छिटफूट मात्रै देखिन थालेको छ ।
बुट्टेनलीको प्रसङ्ग आउँदा बागलुङका वसन्तजंग राजभण्डारी जोडिएर आउनुहुन्छ । बागलुङ बजारका स्थानीय बासिन्दा राजभण्डारीले विगत ३६ वर्षदेखि कलात्मक ढङ्गबाट बाँसको निगालो, बाँसुरी तथा मुरलीमा आकृति भर्दै आउनुभएको छ । उहाँले बुट्टेनलीमा देवीदेवता, पृथ्वीनारायण शाहदेखि वीरेन्द्र शाहसम्मका राजा, नेपालका प्राकृतिक छटा र वन्यजन्तुका चित्र कोरेर कलात्मक ढङ्गका बुट्टेनली तयार पार्दै आउनुभएको छ ।
“केही वर्ष अघिसम्म बागलुङको चिनारीका रुपमा आगन्तुक पाहुनाहरुले खोजी खोजी किनेर लैजाने गरेको बुट्टेनलीको उचित प्रचारप्रसार तथा स्रोत, साधनकोे अभाव हुँदा लोप हुने अवस्था आएको छ,” राजभण्डारीले भन्नुभयो – “बुट्टेनली निर्माण गर्ने शीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यस्तो अवस्था आएको हो ।”
बुट्टेनलीलाई प्रचारप्रसार गर्न सरोकारवाला निकाय नै जागरुक भएर लाग्नु पर्ने राजभण्डारी बताउनुहुन्छ । राजभण्डारीका अनुसार एउटा बुट्टेनली बनाउन चारदेखि पाँच दिनसम्म समय लाग्ने गर्छ । विभिन्न प्रकारका चित्रहरु कोरेर निर्माण गरिने नलीलाई उहाँ तीन हजारदेखि चार हजार रुपैयाँसम्म लिएर बेच्ने गर्नुहुन्छ । बाँसुरी तथा मुरलीलाई दुई हजार रुपैयाँसम्म पर्छ ।
बागलुङमा बुट्टेनली बनाउने कालिगड भेट्न मुश्किल भएका बेला यस्तो कलाकारितामा लागिरहने आफू एक्लो कलाकार भएको उहाँ दाबी गर्नुहन्छ । उहाँ भन्दा अगाडि बागलुङ बजारमा यस्तो पेशा अपनाउने बाबुराम बज्राचार्य हुनुहुन्थ्यो । उहाँको मृत्यु सँगै बुट्टेनली थप सङ्कटमा परेको हो । बागलुङ उद्योग बाणिज्य सङ्घ र बागलुङ हस्तकला सङ्घले जिल्ला कारागार बागलुङका केही कैदीबन्दीलाई केही वर्ष अगाडि बुट्टेनली कुद्ने कला सिकाए पनि बजार समस्याका कारण यो सम्पदा संरक्षण गर्न समस्या परेको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
बुट्टेनलीलाई बचाउन आर्थिक वर्ष २०७४÷७५ मा बागलुङ उद्योग वाणिज्य सङ्घले जिल्लामा रहेको धौलागिरि बहिरा आवासीय विद्यालयका २० जना विद्यार्थीलाई तालीम प्रदान गरेको सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो ।
“हामीले उद्योग वाणिज्य सङ्घको इतिहासमा पटक पटक बुट्टेनलीको तालीम प्रदान गरेका छौं,” अध्यक्ष राजभण्डारीले भन्नुभयो – “तालीम प्रभावकारी बन्न सकेन । अबको दिनमा फरक ढङ्गले बुट्टेनली सिकाउने प्रयत्न गर्नेछौं ।” राजभण्डारीका अनुसार आउँदा वर्षमा एक दर्जन प्रशिक्षक नै तयार पार्ने गरी तालीम अगाडि बढाउने उद्योग सङ्घको योजना छ ।
हस्तकलाका शिल्पीहरुले तयार पार्ने बुट्टेनली, नेपाली कागज र अल्लोको धागो बागलुङका चिनारी मानिन्छन् । बागलुङका हस्तकला शिल्पीहरु तथा सम्पदा प्रेमीहरु अब बुट्टेनली इतिहासमा मात्र सीमित हुने हो कि भन्ने चिन्तामा पर्न थालेका छन् । बागलुङ हस्तकला सङ्घका संस्थापक अध्यक्ष इन्द्र श्रेष्ठले जिल्लामा भित्रने आगन्तुक पर्यटकलाई बुट्टेनलीको महत्वबारे जानकारी दिन आवश्यक रहेको ठान्नुहुन्छ । “मेला महोत्सवमा प्रर्दशनीमा बुट्टेनली राखेका हुन्छौं,” श्रेष्ठले भन्नुभयो – “अबको स्थानीय सरकारले समेत यसलाई चासोका साथ हेर्नुपर्ने अवस्था आएको छ ।”
विसं १९९० तिर एउटा बुट्टेनलीलाई कलाकारले मोहरमा बिक्री गर्ने भएता पनि अहिले मूल्य बढेको छ । यद्यपि अहिले भने एकजनाले मात्र बनाउने बुट्टेनलीले समेत बजार पाउन मुश्किल परेको बताइन्छ । बागलुङका चिनारीहरुलाई प्रर्वद्धन गर्न सकिए यसले जिल्लाकै पर्यटन विकासमा टेवा पु¥याउने निश्चित भएको संस्कृतिप्रेमीहरु विश्वास गर्छन् ।
बागलुङमा पछिल्लो समयमा नेपालमै दुर्लभ मानिएको हनुमान नाच संरक्षण गरिए जस्तै बुट्टेनलीलाई पनि संरक्षण र प्रचार प्रसार गर्न आवश्यक छ । अढाइ सय वर्षभन्दा पुरानो इतिहास बोकेको बुट्टेनलीलाई बागलुङकै पुरानो र मौलिक कलाका रुपमा लिइँदै आइएको बागलुङ हस्तकला सङ्घका संरक्षक तथा साहित्यकार प्रेम छोटाले बताउनुभयो । स्थानीय बासिन्दाको प्रयत्नले मात्र अपेक्षित नतीजा नआउने भएकाले स्थानीय सरकारले यसलाई प्राथमिकतामा राखेर प्रवद्र्धन गर्नुपर्ने धारणा उहाँ राख्नुहुन्छ ।रासस