Logo

विष्णु पौडेल हाबी भएपछि नेकपामा कार्यदलको प्रतिवेदन अलपत्र



काठमाडौं, २९ पुस । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया टुग्याउन बनेको नेकपाको कार्यदलले प्रतिवेदन सचिवालयमा बुझाउन सकेको छैन । नेकपाका महासचिव समेत रहेका नेता विष्णु पौडेलले हालीमुहाली गरेपछि कार्यदलभित्र विवाद बढेको हो । पार्टीको साङ्गठनिक एकता टुङ्गो लगाउन बनेको कार्यदलभित्र विवाद भएपछि तोकिएको समयमा प्रतिवेदन बुझाउन असफल भएको छ । कार्यदलाई यही पुस मसान्तसम्मको म्याद दिईएको थियो । तर, भोलि म्याद गुज्रिने भएको छ ।

गत पुस १३ गते बसेको पार्टीको स्थायी कमिटिको बैठकले दुई पार्टीबीचको एकीकरण टुंगो लगाउन निर्देशन दिएको थियो । तर, स्थायी समितिको निर्देशनअनुसार कार्यदलले काम नगरेको भने होईन । तर, कार्यदलमा रहेका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेताहरुले असन्तुष्टि जनाएपछि प्रतिवेदन समयमै बुझाउन नसकिएको हो ।

कार्यदलको बैठक पछिल्लो पाँच दिन यता बस्न सकेको छैन । अब माघको पहिलो साता बैठक बसेर छलफलसहित प्रतिवेदन टुँगो लगाउने तयारी गरिएको कार्यदलका सदस्य योगेश भट्टराईले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

कार्यदलको संयोजकमा गृहमन्त्री रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, बेदुराम भुषाल, योगेश भट्टराई, लेखराज भट्ट, उर्जामन्त्री वर्षमान पुन, भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठ र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल छन् ।



प्रतिक्रिया दिनुहोस्