Logo

पत्रकार धमला ‘देशभक्त गणतान्त्रिक सम्मान–२०७५’ बाट सम्मानित



काठमाडौं, २९ पुस । नेपाल देशभक्त गणतान्त्रिक मञ्च–२०६३ काठमाडौंले रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई ‘देशभक्त गणतान्त्रिक सम्मान–२०७५’ बाट सम्मानित गरेको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि पत्रकार धमलालाई सम्मान गरिएको हो । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार धमलालाई सम्मानपत्र प्रदान गर्नुको साथै दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

सम्मानित भएपछि सम्बोधन गर्दै पत्रकार धमलाले आफूलाई यो अभिनन्दनले जीवनमा थप हौसला प्रदान गरेको बताए । उनले भने,‘यस्ताखाले सम्मान र अभिनन्दनले हौसला प्रदान गर्छ । सम्मानित हुनेहरुलाई थप जिम्मेवार बनाउँछ ।’

समाजलाई रुपान्तरण गर्न हरेक तह र तप्काका मान्छेको योगदान रहेको उल्लेख गर्दै उनले आगामी दिनमा मिडियाले भ्रष्टाचार अन्त्य गर्नको लागि ठूलो योगदान पुर्याउनुपर्ने धारणा राखे ।

उनले आफूलेपनि अब विकास र सृमद्धिको लागि पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाए । प्राईम टाईम्स टेलिभिजनको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मार्फत आफूले हरेक दिन बहस तथा छलफल कार्यक्रम सञ्चालन गर्दै आएको पनि धमलाले जनाए ।

उनले थपे,‘हाम्रो मुलुकमा भ्रष्टाचारजस्तो महारोगलाई अन्त्य नगरीकन समृद्धि हाँसिल गर्न सकिँदैन् । भ्रष्टाचार अन्त्यको लागि सरकारले पनि कठोर कदम चाल्नुपर्छ ।’ उनले सरकारले अब सुशासन कायम गर्न कुनै कसर बाँकी राख्न नहुने धारणा राखे ।

धमलालाई प्रदान गरिएको सम्मानपत्रमा भनिएको छ,‘लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहि राज्य रुपान्तरणको लागि प्रक्रियामा सुचना सम्प्रेषणको माध्यमद्धारा विशिष्ट योगदान दिँदै रिपोर्टर्स क्लबजस्ता महत्वपूर्ण संस्थाको स्थापना गरि रेडियो तथा टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमासमेत स्थापित् भई जनतामाझ अब्बल पहिचान राख्न सफल पत्रकार रुपमा राज्यलाई योगदान गरेवापत श्री ऋषि धमलाज्यूलाई देशभक्त गणतान्त्रिक सम्मान–२०७५ बाट सगौरब सम्मान गरिएको छ।’

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्