काठमाडौं, १ माघ । पछिल्लो समय नेपाली फिल्मबारे धारणाहरू परिवर्तन हुँदै गएका छन् । मनोरञ्जन मात्रै नभई मानिसलाई जागृत बनाउने काम पनि फिल्मले गर्नुपर्ने धारणाहरू अगाडि आएका छन् । फिल्मको व्यापारमाथि नै रिस्क लिएर विषयप्रधान फिल्महरू बनाउने फिल्मकर्मीहरू पनि बिस्तारै देखा पर्न थालेका छन् ।
केही समयअघि अभिनेत्री रेखा थापा अभिनीत एवं निर्देशित फिल्म ‘मालिका’ प्रदर्शित भयो । महिला हिंसा र बालविवाहमुक्त नेपाल निर्माणमा छोरीका लागि स्वर्णिम नेपाल अभियानअन्तर्गत बनेको फिल्म व्यापारको हिसाबले यो फिल्मले खासै उपलब्धि हासिल नगरे पनि यही फिल्ममा केन्द्रित रहेर समग्र नेपाली फिल्म उद्योगमा महिला पात्र, निर्देशनलगायतको भूमिकालाई लिएर शनिबार थापाथलीस्थित मार्टिन चौतारीमा ‘आह्वान’ मा छलफल गरियो ।
‘रामप्यारी’ फिल्म गर्दासम्म पनि रेखालाई आफ्ना फिल्म सुपरहिट हुन्, पैसा कमाऊन्, फिल्मले उठाएको मुद्दा पारित होस्, छाप छोडेर जाओस् भन्ने सोच्ने गर्थिन् रे । तर ‘रुद्रप्रिया’ पछि सबै कुरा पैसा र नामको आँखाबाट हेर्नुहुन्न रहेछ भनेर थाहा पाएको उनले बताइन् । त्यसो त एसिड पीडित युवतीलाई केन्द्रमा राखेर बनाइएको ‘रुद्रप्रिया’ ले पनि हलमा दर्शकको गतिलो साथ पाउन सकेको थिएन ।
रेखाले समाजबाट पाएको नाम र इज्जतलाई समाजको हितमा लगाउनका लागि सामाजिक विषयवस्तुमा केन्द्रित फिल्महरू बनाउन थालेको दाबी गरिन् । ‘तर समाजमा भएका वास्तविक कुराहरू फिल्ममा देखाउँदा कहिलेकाहीँ वास्तविकता मानिसलाई मन नपर्ने रहेछ,’ उनले भनिन्, ‘मान्छेहरू शृंगारिक चिजहरूमै रुमलिने परम्परा अझै गएको छैन । मानिसलाई वास्तविक जीवनको कथा देखेर विरक्त लागेको हुन सक्छ ।’
अहिले मानिस आफूलाई भुल्न र मनोरञ्जनका लागि फिल्म हेर्न जाने गरेको दाबी गरिन् । उनले भनिन्, ‘यही देशमा विदेशी चिजहरू कथा नमिले पनि मारामार चल्छ, हाम्रो देशको पैसा लान्छन् । तर यही कर्णालीको, मधेसको कथा लिएर आउँदा मानिसलाई हेर्ने फुर्सद छैन । सबैजना आर्टिफिसियल भइसकेका छन् । अब मलाई झूटो सपना बेचेर पैसा कमाउनु छैन ।’
सामाजिक परिवर्तनका लागि चलाएको गोष्ठीमा भत्ता दिएर व्यक्तिले केही नसिक्ने उनले बताइन् । रेखा महिलाभन्दा पुरुष क्षमतावान् छ भनेर मान्दिनन् । तर पारिवारिक जिम्मेवारीहरूले महिलालाई बाँधेको हुने उनको ठहर छ ।
सिर्जनाको क्षेत्रमा सबैको काम पारदर्शी रूपमा देखिने उल्लेख गर्दै दमित आवाज लिएर बसेको मान्छे आफैं अगाडि आउनुपर्नेमा उनी जोड दिन्छिन् । सहजकर्ता अर्चना थापाको ‘नारीवाद र रेखावादको समानता र भिन्नता’ बारे प्रश्नमा रेखाले भनिन्, ‘नारीवाद र रेखावाद एकअर्काका परिपूरक हुन् । म यिनै समाजका नारीको प्रतिनिधि पात्र हुँ । जे समाजमा देख्छु, जे अनुभव सुन्छु, जे कथाहरू सुन्छु, उहाँकै प्रतिनिधि पात्रको रूपमा म पर्दामा उतार्छु ।’
अहिले चलिरहेको मीटु क्याम्पेनबारे बोल्दै रेखाले समाजमा एउटा पुरुष कहिल्यै दोषी नमानिने भएकाले महिलाहरू खुलेर आफूमाथि भएको हिंसाको विरोध गर्न नसक्ने बताइन् । सातरआठ वर्षअघि सम्बन्धविच्छेद गर्दा दुई, तीनवटा विवाह असफल भइसकेको मानिसको चरित्रमाथि औंला नउठाई आफैमाथि दोष आएको बताइन् ।
‘खुल्लमखुल्ला जगजाहेर छ, पुरुषको चरित्र यत्रतत्र सर्वत्र आइसक्दा पनि नारी गलत देखिइरहेकी छ,’ उनले भनिन्, ‘कुनै केटीले मीटुबारे बोले पनि उसको नै करिअर जान्छ ।आफ्नो लडाइँ आफै लड्नुपर्ने हुन्छ ।’ पद पाउँदैमा बोल्न सक्ने सामथ्र्य राख्छ भन्ने रेखालाई लाग्दैन ।
उनलाई जन्मजात नै त्यो कुराहरू आउनुपर्छ भन्ने लाग्छ । जति बेला रेखा फिल्मी क्षेत्रमा प्रवेश गरेकी थिइन्, तब अभिनेत्रीहरूको करिअर पाँच–सात वर्षको हुनेमा अहिले सामाजिक दृष्टिकोण परिवर्तन भइरहेको उनले बताइन् । ‘कलाको उमेर हुन्नँ । अहिले पनि म सात वर्षको क्यारेक्टर निभाउन सक्छु ।’ कान्तिपुर