Logo

सात विद्यालयमा सोलार जडान



काठमाडौँ,२ माघ । ऐँसेलुखर्क गाउँपालिकाको सातवटा माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सौर्य विद्युत् प्रणाली जडान गरिएको छ । त्रिभुवन मावि ऐँसेलुखर्क, माक्पा मावि माक्पा, कालिका बालविकास मावि राखा, कालिका मावि बाकाचोल, शान्तोद्धय मावि ज्यामिरे, सिम्ले मावि जलेश्वरी र शिशु मावि महेश्वरीमा सोलार प्यानेल जडान गरिएको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुरको आर्थिक सहयोगमा प्रत्येक विद्यालयमा दुई÷दुई किलोवाट क्षमताको सोलार प्यानेल जडान गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “सोलारले कम्प्युटर कक्षा सञ्चालन, इ–हाजिरी, शिक्षण सिकाइमा सहज र विद्युतीय काममा सहयोग पुगेको छ ।”

गाउँपालिकाको पहलमा एपेक्स सौर्य ऊर्जा कम्पनीले उक्त विद्यालयमा सोलार प्यानेल जडान गरिएको जनाइएको छ । सौर्य प्रणाली जडान गरिएपछि सबै विद्यालयमा कम्प्युटर कक्षा शुरु गरिएको छ । सात वटा वडा रहेको उक्त गाउँपालिकामा आठ वटा मावि रहेको छ । आठ माविमध्ये जालपा मावि बाकोचोलमा जडान गर्न बाँकी रहेको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिनुभयो ।

गाउँपालिका प्रमुख निरौलाका अनुसार उक्त विद्यालयमा पनि सर्वेक्षणको काम सकिएकाले चाँडै नै जडान गरिने जनाइएको छ । केन्द्रीय प्रशारण लाइनको विद्युत् भरपर्दो नभएपछि उक्त विद्यालयमा सौर्य प्रणाली जडान गरिएको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिनुभयो । सौर्य ऊर्जाबाट विद्यालयमा जुनसुकै समयमा पनि कम्प्युटर कक्षालगायत विद्युतीय काम गर्न सहज भएको सिम्ले मावि जलेश्वरीका प्रधानाध्यापक नीरकुमार कट्टेलले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्