काठमाडौं, २ माघ । मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा यही पौष २७ गतेबाट भारत भ्रमणमा गएका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले ६ दिने भ्रमण सम्पन्न गरी आज अपरान्ह स्वदेश फिर्ता भएका छन् ।
प्रधानसेनापति थापालार्ई बलाधिकृत रथी हेमन्त राज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए भने नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थितिमा उनको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपाल सरकारको निर्णय बमोजिम भारत भ्रमणको क्रममा मिति २०७५ पौष २८ गते प्रधानसेनापति महारथी श्री थापालाई भारतका महामहिम राष्ट्रपति श्री राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी (Honorary Rank of General of the Indian Army) दर्जा प्रदान गर्नु भएको थियो । भ्रमणको क्रममा प्रधानसेनापति महारथी श्री थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावतसँग भेटघाट गर्नुको साथै न्यू दिल्लीस्थित नेशनल डिफेन्स कलेज, जयपुरस्थित South-Western Command र लखनऊस्थित Central Command को मुख्यालयहरुको निरिक्षण भ्रमण समेत गर्नु भएको थियो ।’