Logo

कमजोर सरकार र निरीह प्रतिपक्षले जनता निराशः नेता सिटौला



बनियानी, २ माघ । नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको बताउनुभएको छ ।

गृह नगर भद्र्रपुरमा आज पत्रकारसँग कुरा गर्दै नेता सिटौला बहुमत पाएको बलियो वर्तमान सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको विचार व्यक्त गर्नुभयो । “दुई तिहाइको सरकार आएपछि जनतामा ठूलो आशा जागेको थियो”, उहाँले भन्नुभयो, “तर, अपेक्षाकृत काम भएको छैन, प्रतिपक्षमा रहेको काङ्ग्रेसले पनि गतिलो भूमिका निर्वाह गर्न सकेको छैन ।”

२०४६ सालको परिवर्तनपछि काङ्ग्रेसको तत्कालीन नेतृत्वले व्यवस्था अनुकूल काम गर्न नसक्दा दश वर्षे युद्धको नरसंहार व्यहोर्नुपरेको बताउँदै उहाँले वर्तमान सरकारले विगतको इतिहास बुझेर जनपक्षीय हुनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “त्यसो भएन भने सङ्घीयता, लोकतन्त्र र गणतन्त्र पनि धरापमा पर्न सक्छ ।”

नेता सिटौलाले सङ्घीय संरचनाअनुसार काङ्ग्रेसलाई रूपान्तरण गरी जनताका घरदैलोसम्म लैजानुपर्नेमा जोड दिनुभयो । वाइड बडी विमान घोटालाका विषयमा काङ्ग्रेसको महासमिति भेलाले दोषीलाई कारवाही गर्नुपर्ने आधिकारिक धारणा प्रस्तावका रूपमा पारित गरेकोसमेत नेता सिटौलाले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्