Logo

घाचोकमा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न



काठमाडौँ,माघ ८ । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा स्वास्थ्यचौकीको भवन निर्माण गरिएको छ ।शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कास्कीको रु दुई करोड ३७ लाख ९५ हजार ८८७ लागतमा निर्माण सम्पन्न गरिएको दुईतले सुविधासम्पन्न भवनमा बर्थिङ सेन्टर, बहिरङ्ग, फार्मेसी, प्रशासनिक, दर्ताकक्ष तथा परिवार नियोजन एवं गर्भवती परामर्श कक्ष रहेका छन् ।

विसं २०७२ भदौ २८ गते डिभिजन कार्यालय र फेवा÷मनोज जेभीबीच भवन निर्माण ठेक्का सम्झौता भएको थियो । स्वास्थ्यचौकीले सुरक्षित मातृत्वअन्तर्गत गर्भवती जाँच, प्रसूति सेवा तथा परिवार नियोजन सेवा, बहिरङ्ग सेवा प्रदान गर्दै आएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरिलाल आचार्यले जानकारी दिनुभयो ।

मलेरिया नियन्त्रण कार्यक्रम, घाउ चिरफार, महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम, गाउँघर क्लिनिक, रोग निदान र उपचार सेवा तथा भिटामिन ए, पोलियो खुवाउनेलगायतका राष्ट्रिय कार्यक्रम स्वास्थ्यचौकीबाट प्रदान गरिने उहाँले बताउनुभयो ।

स्वास्थ्यचौकीमा हाल एक वरिष्ठ अहेव, दुई अहेव र दुई अनमी तथा एक कार्यालय सहयोगी गरी छ जनाको जनशक्ति रहेको छ । यसका साथै गाउँपालिकाले बर्थिङ सेन्टरका लागि आन्तरिक स्रोतबाट छुट्टै एक अनमी भर्ना गरेको जनाएको छ ।

सो भवनको सोमबार उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार जनताको नजिक भए सरकारले समस्या चिन्न सक्ने, समाधान गर्न योजना, कार्यक्रम र बजेट छुट्याएर विकास अगाडि बढाउनसक्ने बताउनुभयो । देशमा अहिले एउटा सरकारको ठाउँमा ७६१ सरकार रहेको भन्दै उहाँले भन्नुभयो, “अब तीन वटै सरकारको एउटै मात्र अर्जुनदृष्टि विकास निर्माण, व्यापार व्यवसाय, उद्योग कलकारखाना, विश्वविद्यालय, बाटो पुल निर्माण र उत्पादन कसरी बढाउने भन्ने छ ।”

गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले निर्वाचनको समयमा जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले सुविधासम्पन्न स्वास्थ्यचौकी भवनबाट प्रभावकारी सेवा जनताले पाउने अपेक्षा गर्दै भवनलाई साधन स्रोत सम्पन्न बनाउन गाउँपालिकाको तर्फबाट सहयोग रहने बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्