काठमाडौँ,१० माघ ।दक्षिण एशियाली खेलकूद सागको नयाँ मिति आगामी मार्चमा घोषणा हुने भएको छ ।आगामी चैत महीनाका लागि तोकिएको दक्षिण एशियाली खेलकूद ९साग० पूर्वाधारका कारण गर्न नसक्ने पत्र राष्ट्रिय खेलकूद परिषद्ले नेपाल ओलम्पिक कमिटीलाई पठाएपछि यसबारे छलफल गर्न साउथ एशियन ओलम्पिक काउन्सिलको बैठक आगामी मार्च २ मा बस्ने भएको छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं साउथ एशियन ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले राखेपको पत्र प्राप्त भएको र यसबारे छलफल गर्न आगामी मार्च २ मा साउथ एशियन ओलम्पिक काउन्सिलको बैठक थाइल्याण्डमा बस्ने जानकारी दिनुभयो ।
उक्त बैठकले दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० को नयाँ मितिको टुङ्गो लगाउनेछ । “प्रतियोगिताको मिति घोषणा गर्न सबै सदस्य राष्ट्रको सहमति चाहिन्छ, हामी बैठकमा यसबारे छलफल गरेर टुङ्गोमा पुग्छौँ,” उहाँले भन्नुभयो ।
मार्चको पहिलो साता बैंककमै एशियन ओलम्पिक कमिटीको विशेष साधारणसभा आयोजनासमेत हुँदैछ । सोही अनुकूलतालाई आधार मानेर साउथ एशियन ओलम्पिक काउन्सिलको बैठक राखिएको श्रेष्ठको भनाइ छ ।
यसअघि साग प्रतियोगिता आगामी मार्च ९ देखि १८ सम्म नेपालमा आयोजना गर्ने निर्णय भएको थियो । तर समयमै तयारी अगाडि नबढाउँदा प्रतियोगिता निर्धारित मितिमा गर्न नसकिने स्पष्ट देखिएको छ ।
सरकारले समेत नेपाल ओलम्पिक कमिटीलाई पत्र लेख्दै मार्चका लागि निर्धारण गरेको मितिमा प्रतियोगिता आयोजना गर्न नसकिने स्पष्ट पार्दै सेप्टेम्बरका लागि नयाँ मिति तोक्न पहल गर्न आग्रह गरेको थियो । रासस