Logo

भारतको लगानी बढाऔँ, निर्यात पनि भारतमा नै गरौँ : डा. महत



काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाल–भारत सम्बन्ध बहुआयामिक भएको बताएका छन् । डा. महतले नेपाल र भारतबीचको युगौँ युगदेखिको सम्बन्ध प्रगाढ रहेको बताएका हुन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. महतले भारतले नेपाल लगायत विश्वका धेरै देशलाई अनुकरणीय काम गरेर मार्गदर्शन गरेको पनि बताए । “भारतको संविधानमा प्रजातन्त्रका सबै अङ्ग समावेश छन् । जुन अरु देशले पनि अनुकरण गर्न सक्छन् ।”–महतले भने ।

नेपाल–भारतबीचको सम्बन्ध ऐतिहासिक भएको जिकिर गर्दै डा.महतले भारतको स्वतन्त्रता संग्राममा नेपालको सहयोग र नेपालमा राणा शासन अन्त्य गर्नका लागि भारतको भूमिका महत्वपूर्ण रहेको स्मरण गराए ।

“भारतको स्वतन्त्रता संग्राममा नेपालबाट विपी कोइरालाले सहयोग गर्नुभयो । सहभागी पनि हुनुभयो । भारत स्वतन्त्र भएपछि नेपालबाट पनि राणा शासनको अन्त्य गर्नुपर्छ भन्ने आवाज उठ्यो ।”–महतले भने ।

नेपाल आर्थिक विकासको युगमा प्रवेश गरेको उल्लेख गर्दै महतले भारतको सहयोग अपरिहार्य रहेको बताए । नेपाल आफैँ पनि आन्तरिक रुपमा बलियो हुनुपर्ने बताउँदै उनले भारतको आर्थिक सहयोग नेपालका लागि महत्वपूर्ण हुने बताए ।

“भारत विश्वकै आर्थिक शक्ति राष्ट्रको रुपमा उदाउँदैछ । यस्तो अवस्थामा नेपालले भारतको राम्रो सहयोग पाउन सक्छ । तर नेपाल आफैँ पनि आन्तरिक रुपमा मजवुत बन्नुपर्छ । लगानीको वातावरण पनि बनाउन सक्नुपर्छ ।” महतको भनाई थियो ।

नेपालमा वैदेशिक लगानी वृद्धिको मुख्य स्रोत नै भारत भएको महतको तर्क छ । नेपालमा भारतको लगानी बढाउने र नेपालबाट भारतमा नै विभिन्न वस्तु निर्यात गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने महतले बताए ।

नेपालबाट भारत निर्यात हुने वस्तुका लागि भारतीय बजार खुला र सहज बनाउनुपर्नेमा पनि महतले जोड दिए ।

भारतको सहयोगमा बन्न लागेका अरुण तेस्रो र माथिल्लो कर्णाली आयोजनाको विषयमा गम्भीर बन्न महतले भारतलाई सुझाब दिएका छन् । अरुण तेस्रोमा समस्या नभए पनि माथिल्लो कर्णालीमा केही अन्योल देखिएको भन्दै महतले ध्यानाकर्षण गराए ।

नेपाल–भारत प्रवृद्ध व्यक्ति समुहले तयार पारेको प्रतिवेदनलाई नेपाल र भारत सरकारले बेवास्ता गरेको हो कि भनेर महतले आशंका व्यक्त गरेका थिए । डा.महतले ईपिजी प्रतिवेदनलाई दुवै सरकारले महत्व दिनुपर्नेमा जोड दिए ।

भारतले भोली गणतन्त्र दिवस मनाउँदैछ । दिवसको पूर्वसन्ध्यामा गरिएको कार्यक्रममा महतले भारतलाई अझै सफलताको शुभकामना दिएका छन् । साथै नेपाल र भारतबीचको सम्बन्ध पनि अझै प्रगाढ हुनेमा महतले विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्