डा. थापाको प्रश्न : ईपीजी प्रतिवेदन कहिले कार्यान्वन हुन्छ ?
काठमाडौं, ११ माघ । पूर्व परराष्ट्रमन्त्री, भारतका लागि नेपालका पूर्व राजदूत एवम् नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) का नेपाल तर्फका संयोजक डा. भेषबहादुर थापाले नेपाल–भारत प्रवुद्ध समुहले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न दुवै देशलाई ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. थापाले नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ र अर्थपूर्ण बनाउनका लागि इपीजी प्रतिवेदन महत्वपूर्ण हुने दावी पनि गरे । थापाले आफूहरु इपिजी प्रतिवेदन कसरी अगाडि बढाइन्छ भन्ने प्रतिक्षामा रहेको बताए ।
नेपाल र भारतबाट प्रवुद्ध समुहमा आवद्ध सबैबीच समझदारी भएर प्रतिवेदन तयार पारिएको दावी गर्दै संयोजक थापाले उक्त प्रतिवेदनलाई महत्व दिन आग्रह पनि गरे ।
प्रतिवेदनमा विगतमा नेपाल र भारतबीच भएका सन्धी÷सम्झौता पुनरावलोकन गर्ने सहमति उल्लेख गरिएको थापाले जानकारी दिए । साथै दुई देशबीचको सम्बन्ध आगामी दिनमा थप मजबुत बनाउनका लागि प्रतिवेदन महत्वपूर्ण हुने थापाले बताए ।
‘धेरै मिहिनेत गरेर इपिजी प्रतिवेदन तयार गरिएको हो । यसमा दुवै देश संयुक्त रुपमा जिम्मेवार बन्नुपर्छ । सर्वसम्मतिले बनेको प्रतिवेदनको महत्व धेरै छ ।’– डा. थापाले भने ।
प्रवुद्ध समुहले काम गरेको २ वर्षको अवधिमा नेपाल–भारतबीचको सम्बन्ध थप सुमधुर भएको दावी गर्दै थापाले भने–‘प्रवुद्ध समुहले काम गर्ने बेलामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने र नेपालका प्रधानमन्त्री भारत जाने क्रम बढेको थियो ।’
थापाले प्रतिवेदन कार्यान्वयनको पाटोमा जानेमा आफूहरु विश्वस्त भएर प्रतिक्षा गरिरहेकोसमेत सुनाए । “प्रतिवेदन के कसरी कार्यान्वयन हुन्छ भन्नेमा प्रतिक्षा गरिरहेका छौँ । पर्खाईको चाँडै अन्त्य हुने विश्वास लिएको छु ।”–थापाले भने ।
“प्रवुद्ध समुहका भारततर्फका संयोगक भगतसिंह कोशियारी र म लगायत सबै साथीहरुले प्रतिवेदनमा धेरै मिहिनेत गरेका छौँ । २ देशबीचको समस्या समाधान गर्दै सम्बन्धलाई थप मजबुत बनाउनका लागि प्रतिवेदन महत्वपूर्ण हुनेछ ।” –थापाले दावी गर्दै भने ।
नेपाल भारतबीचको सम्बन्ध अरु देशसँग दाँज्न नै नमिल्ने भन्दै डा. थापाले २ देशबीचको कुटनीतिक सम्बन्ध निकट रहेको पनि बताए ।
कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले नेपाल–भारत सम्बन्ध अत्यन्तै प्रगाढ रहेकोले आगामी दिनमा यसलाई अझै सुदृढ गरेर जानुपर्ने धारणा राखेका छन् । उनले भने,‘नेपाल र भारतजस्तो सम्बन्ध विश्वको कुनैपनि दुई देशबीच छैन । यो कुरालाई आत्मसात् गर्दै द्धिपक्षीय सम्बन्ध अघि बढाउनुपर्छ ।’
आगामी दिनमा द्धिपक्षीय सम्बन्धलाई आर्थिक रुपमा बढि चलायमान बनाउनुपर्ने धमलाको भनाई थियो । उनले भारतको ७० औं गणतन्त्र दिवसमा शुभकामना दिँदै आगामी दिनमा भारतले लिएको आर्थिक समृद्धिको लक्ष्य चाँडै हाँसिल गरोस भन्ने धारणा पनि राखे ।