Logo

रक्ताभाव हुन नदिन रक्तदाता पहिचान



काठमाडौँ,११ माघ । गोरखा जिल्ला अस्पतालमा उपचार गर्न आउने बिरामीले अब रगत अभावका कारण सास्ती खेप्नु नपर्ने भएको छ । अस्पतालमा उपचारका लागि बिरामीलाई आकस्मिक रगत आवश्यक परे उपलब्ध गराउन सक्ने गरी लियो क्बल अफ गोरखाले ८२ रक्तदाताको परिचान गरेको छ ।

यससँगै अस्पतालमा उपचार गर्न आउने बिरामीका आफन्त रगतको खोजीमा भौँतारिनुपर्ने बाध्यता हट्ने भएको छ । जिल्लामा रक्तसञ्चार केन्द्र नभएकाले रगत अभावका कारण बिरामीले ज्यानै गुमाउनुपर्ने जोखिम रहँदै आएको थियो । क्लबले आकस्मिक रगत उपलब्ध गराउन सजिलो होस् भनेर युवाको रक्त पहिचान गरेको क्लबका हेल्थ कोर्डिनेटर अस्मिता खड्काले जानकारी दिनुभयो । क्लबले गोरखा नगरपालिकास्थित महेन्द्रज्योति माध्यमिक विद्यालय दरबारमार्गमा विद्यार्थीको निःशुल्क रक्त समूह पहिचान गरी तथ्याङ्क राखेको उहाँले बताउनुभयो ।

“गोरखा अस्पतालमा आकस्मिक रक्तदान गर्न सक्ने र विद्यार्थीलाई आफ्नो रक्त समूहको बारेमा जानकारी दिने मुख्य उद्देश्यले रगतको पहिचान गरेका हांैँ”, क्लबका अध्यक्ष यम बसेलले भन्नुभयो, “रगत पहिचान गरिएका सबै युवकयुवती रहेका छन् ।”

अस्पतालमा शल्यक्रिया गर्नुपर्ने सुत्केरी तथा तथा अन्य बिरामीका लागि रगत आवश्यक पर्ने भए पनि गोरखा जिल्लामा रगत पाउन गाह्रो हँुदै आएको छ । ‘जिल्लामा रक्तसञ्चार केन्द्र छैन,’ उहाँले भन्नुभयो, “रक्तसन्चार केन्द्र नहुँदा जानकारीमा भएका रक्तदातालाई अस्पतालले बोलाइदिने गर्छ, त्यसका लागि रगत पहिचान गरेपछि सजिलो हुने विश्वास लिएका छौँ ।” रासस



प्रतिक्रिया दिनुहोस्