Logo

स्वीट्जरल्याण्ड भ्रमण सफल रह्यो : प्रधानमन्त्री ओली



काठमाडौँ, १२ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल रहेको बताउनुएको छ ।

डाभोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई आज बिहान स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालको पछिल्लो राजनीतिक विकासक्रम, शान्तिप्रक्रिया, संविधान जारी भएपछिका परिवर्तन र उपलब्धिबारे विश्वका विभिन्न मुलुकका नेतालाई जानकारी गराउन तथा नेपाल र स्वीट्जरल्याण्डबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन पनि भ्रमण फलदायी भएको बताउनुभयो ।

मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी हुँदा आफूले उद्यमशीलताको विकास, गरीब र धनीबीचको खाडल पुर्दै समतामूलक समाज निर्माणमा अग्रसर हुने, लोकतन्त्र र ‘प्रेस’ स्वतन्त्रताको रक्षा, आर्थिक उन्नयनका निम्ति सम्पर्क सञ्जाल विस्तार, क्षेत्रीयता प्रवद्र्धनलगायत विषयमा नेपालको धारणा व्यक्त गरेको जानकारी दिनुभयो ।

“लोकतन्त्रको सुदृढीकरण, राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा जनताका अधिकारको सुनिश्चितता, सार्वभौमसत्ता सम्पन्न जनताको सुरक्षा र सम्मान, प्रेसको अपरिहार्यता र त्यसको जिम्मेवारीबारे अभिमत प्रकट गरेँ” लोकतन्त्रमा अरुको अधिकारको सम्मान गर्ने तथा व्यक्ति, परिवार र समाजमा गलत सूचना प्रवाह गर्न नहुने प्रेसको दायित्व र नेपाली प्रेसले उपभोग गरेका प्रेस स्वतन्त्रताका विविध पक्ष ती छलफलमा उजागर गरेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्