Logo

प्रहरी अस्पतालमा विशिष्ट व्यक्तिको उपचार कक्ष निर्माण



काठमाडौँ, १२ माघ । नेपाल प्रहरी अस्पताल पानीपोखरीले विशिष्ट तथा अतिविशिष्ट व्यक्तिको स्वास्थ्य उपचारका लागि विशेष उपचार कक्ष निर्माण गरेको छ ।

विसं २०७४ कात्तिक २६ देखि सर्वसाधारणलाई समेत उपचारका लागि खुला गरेको अस्पतालले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र विशिष्ट व्यक्तिको उपचारका लागि विशेष कक्ष निर्माण गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले प्रहरी अस्पतालभित्र विशिष्ट व्यक्तिको लागि उपचार कक्षको खाँचो रहेकाले उक्त कक्ष निर्माण गरिएको जानकारी दिनुभयो । “सर्वसाधारणलाई उपचारका लागि खुला गरेपनि विशेष व्यक्तिका लागि उपचार कक्ष स्थापना नभएकाले हामीले उक्त कक्ष स्थापना गरेका हौँ,”–उहाँले भन्नुभयो ।

यसअघि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज, वीरअस्पताल, वीरेन्द्र सैनिक अस्पताल छाउनीलगायत अस्पतालले विशिष्ट व्यक्तिको उपचारका लागि कक्ष स्थापना गरेर सेवा दिँदै आएका छन् ।

प्रहरी अस्पतालमा हाल दाँत, नाक, कान घाँटी, इमर्जेन्सी, आँखा, छाला, अर्थोपेडिक, सर्जरीलगायतका रोगको उपचार हुँदै आइरहेको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्