Logo

पन्ध्र लाखको च्याउ बिक्री



काठमाडौँ,१३ माघ । कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका च्याउ खेतीमा संलग्न किसानले रु १५ लाखभन्दा बढीको कन्ये जातको च्याउ बिक्री गरेका छन् ।

नगरपालिकाको कृषि विकास शाखाबाट अनुदानमा बीउ र प्रविधिमा सहयोग पाएपछि एकसय किसानले च्याउ खेती गरेका हुन् । सय वटा नमूना च्याउ घर बनाई किसानले च्याउ उत्पादन गर्दै आएको शाखाका प्रमुख रणबहादुर मल्लले बताउनुभयो ।

च्याउ घरबाट किसानले ३० मेट्रिकटन च्याउ उत्पादन गरेका छन् उहाँले भन्नुभयो, “उत्पादित च्याउ सहजै स्थानीय बेलौरी बजारमा खपत हुने गरेको छ ।” बजारमा च्याउ रु २५० देखि रु ३०० प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । “बजारमा च्याउको माग बढ्दो छ । किसानले मागअनुरुप च्याउ उत्पादन गर्न सकेका छैनन् । बजार भए पनि मागअनुसारको च्याउ उत्पादनका लागि किसानलार्ई अझै प्रविधिमा सहयोग गर्ने योजना बनाइरहेका छौँ”, कृषि प्राविधिक हरिश सेटीले भन्नुभयो ।

“उत्पादित च्याउ पछिसम्म बजारमा उचित मूल्यमा बिक्री गर्न र ‘सोलार ड्रायर’ प्रयोग गरी चिप्स बनाउने उद्योग स्थापना गर्न नगरपालिकासँंग उक्त शाखाले प्रस्ताव गरेको र यसबाट किसानको च्याउले मूल्य बढी पाउनाका साथै स्थानीय युवालाई रोजगारी पनि दिन सकिन्छ” शाखा प्रमुख मल्लले भन्नुभयो । गत वर्ष १० किसानले मात्रै कृषि शाखाबाट रु दुई लाख अनुदान लिएर नमूना घर निर्माण गरी च्याउ उत्पादन गरेका थिए । ती नमूना घरबाट किसानले चार मेट्रिक टन च्याउ उत्पादन भएको थियो ।

च्याउ घरमा च्याउको व्यावसायिक उत्पादनमा लाग्नुभएकी मीना चौधरीले च्याउको बीउ राखेको एक महीनाको अवधिमै च्याउ बिक्रीबाट रु एक लाखभन्दा बढी आम्दानी भएको बताउनुभयो । च्याउखेतीबाट आम्दानी बढ्दै गएकाले यसलाई थप प्रवर्धन गर्न कृषि प्राविधिकसँग सल्लाह लिन थालेको अर्का कृषक जयराम चौधरीले बताउनुभयो ।

“अन्य कृषिजन्य उत्पादनको तुलनामा च्याउखेतीबाट मनग्य आम्दानी हुनाका साथै उपभोक्ताले बढी रुचाएकाले यसलाई व्यावसायिकरुपमा अगाडि बढाउने सोच अघि सारेका छौँ” उहाँले भन्नुभयो । छोटो अवधिमै बढी प्रतिफल दिने भएकाले च्याउखेतीतर्फ किसानको आकर्षण बढेको पाइएको हो ।

वसन्ते लहरे तरकारीको बीउ वितरण

कञ्चनपुरको बेलौरी नगरपालिकाको कृषि विकास शाखाले किसानलाई व्यावसायिक खेतीतर्फ डो¥याउन ५० प्रतिशत अनुदानमा वसन्ते वर्णशङ्कर९हाइब्रिड० जातको लहरे तरकारीको बीउ वितरण गरेको छ ।

नगरपालिकाको १० वटै वडाका २०५ किसानलाई करेला, लौका, तनेबोडी, तरभुजा, फर्सीलगायत बीउ वितरण गरिएको हो । बीउका लागि नगरपालिकाले रु एक लाख ९५ हजार र किसानले सोहीअनुसारको रकम खर्चेका छन् ।

वितरण गरिएका बीउ बगरमा १० हेक्टर र अन्य ३० हेक्टर गरी जम्मा ४० हेक्टर जमीनमा रोपिएको कृषि विकास शाखाका नायब प्राविधि सहायक हरिश सेटीले बताउनुभयो । यसैगरी किसानलाई शाखाले वसन्ते तरकारी मिनीकिटसमेत वितरण गरेको छ । दुईसय अठार कृषक समूहका दुई हजार किसानलाई निःशुल्क मिनी किट वितरण गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्