काठमाडौँ, १५ माघ : शहीदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गरी अघि बढ्नुपर्ने बताइएको छ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको शहीद दशरथ चन्द र गङ्गालाल श्रेष्ठले अमरत्व प्राप्त गर्नुभएको काठमाडौँको शोभा भगवती मन्दिर नजिक विष्णुमती नदी किनारामा आयोजना गरिएको श्रद्धाञ्जलिसभामा कामपा प्रमुख विद्यासुन्दर शाक्यले हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न प्राणको बाजी मार्ने शहीदको योगदान कसैसँग तुलना हुन नसक्ने बताउनुभयो ।
सांसद जीवनराम श्रेष्ठले जनतालाई रैतीबाट मालिक बनाउने लक्ष्य बोकेर प्राण आहुति दिएका शहीदले देखाएको बाटो हिँड्न सबैको कर्तव्य रहेको धारणा राख्नुभयो । महानगरकी उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले राजनीतिक परिवर्तनका शृङ्खलाको चर्चा गर्दै १९९७ सालमा वीरगति प्राप्त गर्ने शहीदको पूर्णकदको सालिक बनाउन वडा अध्यक्षलाई आग्रह गर्नुभयो ।
राणाशासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा विसं १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा मृत्युदण्ड दिइएको थियो ।
बैतडीमा जन्मिनुभएका दशरथ चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो । त्यस्तै रामेछापको भङ्गेरीमा जन्मिनुभएका गङ्गालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लाग्नुभएको थियो ।
विसं २०१२ देखि नै महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको सम्झनामा सप्ताह मनाउन थालिएको हो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा मृत्युदण्ड दिइएको थियो । शहीद सप्ताहको अन्तिम दिन माघ १६ गते बुधबार शहीद दिवसका अवसरमा बिहान शान्तिबाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरि गरिने कार्यक्रम छ । (रासस)