Logo

सामाजिक अपराध बढ्दैः प्रवक्ता सुवेदी



काठमाडौँ,१५ माघ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पछिल्लो समय देशमा सङ्गठित अपराध घट्दै गएको तर सामाजिक अपराध बढ्दै गएको बताउनुभएको छ ।

विगतमा प्रहरीलाई साङ्गठनिक अपराध नियन्त्रण गर्न चुनौती भए पनि हाल आएर सामाजिक अपराध न्यूनीकरण गर्न चुनौती थपिएको उहांँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ आयोजना गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रममा प्रवक्ता सुवेदीले प्रहरी एक्लैले अपराध नियन्त्रण गर्न नसक्ने बताउनुभयो ।

यसमा प्रहरीको मात्रै नभई स्थानीय सरकार, सामाजिक संस्था एवं नागरिककोसमेत उत्तिकै दायित्व रहेको उहाँको भनाइ थियो । “विगतमा सङ्गठित अपराध सक्रिय थियो, अहिले यी अपराध शून्यमा झरेको छ”, उहाँले भन्नुभयो । विगत केही समयदेखि सामाजिक विकृति, विसङ्गतिका कारण समाजमा हत्या, हिंसा, बलात्कारका घटनामा वृद्धि भएको उहाँले औँल्याउनुभयो ।

सङ्गठित अपराध नियन्त्रण गर्न प्रहरी सफल भएको भन्दै उहाँले गुण्डागर्दी गर्ने अधिकांशको प्रहरी मुठभेड ९इन्काउण्टर०मा मृत्यु भएको र ४०० बढी कारागारमा रहेको जानकारी दिनुभयो । उहाँले सबैभन्दा बढी बलात्कारका घटना १५ वर्ष मुनिका बालिकामा हुने गरेको बताउनुभयो ।जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले भयरहित समाज निर्माणका लागि प्रहरीसँग समन्वय गर्न आवश्यक रहेको बताउनुभयो ।

स्थानीय तहमा पनि न्यायिक समितिमा विभिन्न मुद्दा आउनेक्रम बढेको भन्दै भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले आगामी दिनमा प्रहरीसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महिला अधिकारकर्मी, नागरिक समाजका अगुवाले प्रहरीलाई साथ दिने प्रतिबद्धता दिँदै प्रहरीले बलात्कार, हिंसा, घटनामा अझ सक्रियता बढाउन सुझाव दिएका थिए ।रासस



प्रतिक्रिया दिनुहोस्