Logo

सैतीस लाखमा खानेपानी योजना



दमौली,२१ माघ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा रु ३७ लाख ७७ हजारको लागतमा खानेपानी योजना सम्पन्न भएको छ ।स्थानीयवासीलाई स्वच्छ खानेपानी पु¥याउने उद्देश्यका साथ २०७३ असारदेखि सो योजना निर्माण थालिएको हो । सांसद विकास कोषबाट रु १० लाख, नेपाल विद्युत् प्राधिकरणबाट रु १२ लाख, शुक्लागण्डकी नगरपालिकाबाट रु १० लाख तथा उपभोक्ताले रु दुई लाख ५५ हजार बराबरको जनश्रमदान गरी सो योजना निर्माण गरेका उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र थापाले जानकारी दिनुभयो । योजनाबाट २०० परिवार लाभान्वित हुने छन् ।

“प्रत्येक घरमा मिटर जडान गरी पानी वितरण थालेका छौँ,” उहाँले भन्नुभयो । योजना निर्माण भएपछि पानीका लागि टाढाटाढा जानुपर्ने बाध्यता अन्त्य भएको स्थानीयवासी जयश्वर पाण्डेले बताउनुभयो । “घण्टौँ हिँडेर पानी लिन जानुपर्ने बाध्यता थियो, अब समस्या हटेको छ”, उहाँले भन्नुभयो । सो योजनाको आइतबार गण्डकी प्रदेशसभाका सदस्य आशा कोइरालाले उद्घाटन गर्नुभयो ।

बाह्र लाखको जग्गादान

तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित लोकतान्त्रिक युवा समाजको भवन निर्माणका लागि पोखरा महानगरपालिका–२९ निवासी कल्याणबाबु भण्डारीले चार आना जग्गा दान गर्नुभएको छ । नेपाल विद्यार्थी सङ्घ कास्कीका पूर्वअध्यक्ष तथा नेपाली काङ्ग्रेस पोखरा महानगरपालिकाका सदस्य भण्डारीले करीब रु १२ लाख बराबरको सो जग्गा समाजको भवन निर्माणका लागि दान गर्नुभएको हो ।

समाजको भवन निर्माणका लागि जग्गाको आवश्यकता परेको थाहा पाएपछि आफूले जग्गा दान गरेको भण्डारीले बताउनुभयो । समाजका अध्यक्ष हिरा थापाले सो जग्गामा भवन निर्माण गरिने बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्