Logo

मन्त्रीद्धारा मालपोल कार्यालयमा छड्के



काठमाडौँ,२१ माघ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले मालपोल कार्यालय चाबहिलमा अनलाइन प्रणालीमा उत्पन्न हुने प्राविधिक गडबडी सुधार्न निर्देशन दिनुभएको छ ।

सुरक्षाकर्मीबिना मालपोल कार्यालयको छड्के जाँच गर्ने क्रममा पुग्नुभएका उहाँलाई सेवा लिन आएका सेवाग्राहीले व्यवस्थापन राम्रो नभएको, भवन सेवामैत्री नभएको, ढिलासुस्ती भएकोलगायत गुनासो गरेपछि उहाँले कार्य सम्पादनलाई व्यवस्थित गरी गुुणस्तरीय सेवा प्रदान गर्न र सेवाग्राहीको सहजताका लागि डिजिटल प्रणालीको प्रयोगलाई प्राथमिकता दिन कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको हो ।

मन्त्रीसहितको टोलीले सेवाग्राहीका रुपमा कार्यालयमा भइरहेका दैनिक गतिविधिको अनुुगमन गर्दै सेवाग्राहीले सेवा लिने प्रत्येक कक्षमा सेवाग्राहीका रुपमा त्यहाँको गतिविधि अध्ययन गरेको थियो । दैनिक कार्य सम्पादनका लागि उक्त स्थान उपयुुक्त नभएकाले त्यसको विकल्प खोज्न कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको थियो ।

“सेवाग्राहीलाई सेवा लिन सास्ती छ, कर्मचारीलाई पनि आफ्नो काम सम्पादन गर्न समस्या भएको छ”, मन्त्री अर्यालले भन्नुभयो, “अनलाइन सेवामा आएको समस्याले प्रभावकारी सेवा सञ्चालन हुन नसकेकाले थप तालीमको आवश्यकता देखिएको छ ।” उहाँले सर्भरसँग जोडिएर आउने समस्याको समाधान गर्न दक्ष जनशक्ति उत्पादनका लागि मन्त्रालयले थप तालीम दिने बताउनुभयो ।

सेवालाई प्रभावकारी बनाउने कार्यको थालनीसँगै सुशासनमाथिको प्रश्नको कुरालाई निरुपण गर्न सेवामा प्रविधिको प्रयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ । भविष्यमा मन्त्रालयअन्तर्गतका सम्पूूर्ण सेवा विद्युतीय प्रणालीमा विकास गरिने भएका छन् ।

अनुगमनका क्रममा केही कर्मचारी निलम्बनमा परेका र केही काजमा बसेकाले सेवाग्राहीलाई तत्काल सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएको छ । फोटोकपी व्यवसायी र लेखापढी व्यवसायीको कार्यालय सोही भवनभित्र रहेकाले सेवाग्राहीको चाप बढेको पाइएको छ ।

सचिव गोपीनाथ मैनालीले कार्यालयमा कर्मचारीलाई संरक्षण र दरबन्दीको अभावले गर्दा कार्य सम्पादनमा ढिलासुस्ती पाइएको बताउँदै केही लेखापढी व्यवसायीले कर्मचारीलाई दबाब दिने गरेकाले उनीहरुमाथि निगरानी गरिने बताउनुभयो ।
सरकारले पछिल्लो समय प्रयोगमा ल्याएको सरलीकृत फारम सेवाग्राही आफैँले भर्नसक्ने हुँदा आफ्नो व्यवसाय समस्यामा परेकोप्रति लेखापढी व्यवसायीले समस्यामा परेको गुुनासो गरेका थिए । कार्यालयका प्रमुख पद्ममप्रसाद अर्यालले सुशासन कायम गरी सेवाग्राहीलाई चाँडो सेवा र सुवधा उपलब्ध गराउन प्रतिबद्धता व्यक्त गर्दै नयाँ बन्दै गरेको कार्यालयको भवन निर्माणमा ढिलाइ हुँदा समस्या भएको बताउनुुभयो । रासस



प्रतिक्रिया दिनुहोस्