Logo

नेपालमै पहिलोपटक अग्निकर्म उपचार पद्धतिको सफल परीक्षण



लमही, २४ माघ । मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय दाङमा अग्निकर्म पद्धतिबाट उपचार सेवा शुरु भएको छ ।आयुर्वेद चिकित्सा पद्धतिअन्तर्गत नेपालमै पहिलोपटक अग्निकर्ममार्फत दाङमा छ जनाको उपचार गरिएको चिकित्सालयका निर्देशक डा रामकामेश्वर ठाकुरले बताउनुभयो । “अहिलेसम्म नेपालमा यो अग्निकर्मको उपचार पद्धति कुनै पनि आयुर्वेद अस्पतालमा शुरु भएको छैन”, उहाँले भन्नुभयो, “पहिलोपटक दाङमा हामीले यो अग्निकर्म पद्धतिबाट उपचार शुरु गरेका छौँ ।”

बढी काम गर्दा हात तथा खुट्टाको मासुमा चाप हुने र त्यसरी चाप पर्दा मासुले काम गर्न नसक्ने ९ठेला परेको० अवस्थामा त्यसको उपचार गर्ने पद्धतिनै अग्निकर्म भएको उहाँको भनाइ छ । यो पद्धतिअन्तर्गत आगोले उक्त मासुलाई जलाएर फाल्ने गरिन्छ । “धेरै काम गर्दा बढी मासु भएको भागमा त्यसमा पनि बढी हात र खुट्टाको केही मासु काम नगर्ने अवस्थामा हुन्छ”, उहाँले भन्नुभयो, “त्यसलाई आगोको माध्यमबाट उपचार गर्ने पद्धति अग्निकर्म हो ।”

दाङ तुलसीपुर उपमहानगरपालिका–१९ कि ३६ वर्षीया इन्द्रा योगीको खुट्टामा परेको ठेला हटाएपछि अग्निकर्मको सफल परीक्षण भएको हो । अहिलेसम्म यो सेवा निःशुल्क प्रदान गरिएको भए पनि अब भने शुल्क लगाउने व्यवस्था मिलाउने उहाँले भन्नुभयो । “अस्पतालमा नयाँ सेवा शुरु भएको छ, यसले अस्पताललाई आर्थिक हिसाबले थप बलियो बनाउन मद्दत पुग्छ”, उहाँले भन्नुभयो, “त्यसैले यो सेवालाई पनि नियमित रुपमा अगाडि बढाउँछौँ ।” उहाँले अग्निकर्म सेवा लिएबापत रु दुई हजार शुल्क लिने तयारी रहेको बताउनुभयो ।

अग्निकर्म उपचार पद्धतिका लागि थप पूर्वाधार पनि नचाहिने तथा जनशक्ति पनि आवश्यक नपर्ने निर्देशक डा ठाकुरको भनाइ छ । आयुर्वेद चिकित्सामा स्नातक गरेकाले यो सेवा प्रदान गर्न सक्ने उहाँको भनाइ छ । परीक्षण सफल भएको भन्दै यो अभ्यास सबै आयुर्वेदले गर्नेसमेत उहाँले बताउनुभयो ।

यो सेवा शुरु भएसँगै बिरामी पनि खुशी भएका छन् । लामो समयदेखि खुट्टाको मासुमा बसेको ठेलाले गर्दा हिँड्न पनि अठ्यारो थियो । अग्निकर्ममार्फत उपचार गराएपछि सहज भएको तुलसीपुर–१९ कि इन्द्रा योगीले बताउनुभयो । “लामो समयदेखि ठेला आएको थियो, तर फाल्न सकिएको थिएन ।”, उहाँले भन्नुभयो, “यो फालेपछि भने हिँडडुल गर्न सहज भएको छ ।”

अहिले अग्निकर्म हुने थाहा पाएपछि बिरामीको सङ्ख्या पनि बढिरहेको निर्देशक डा ठाकुरले बताउनुभयो । “अग्निकर्मको सफल परीक्षण भएको जानकारी पाएपछि अहिले धेरै जना उपचारका लागि आउने गर्नुहुन्छ” उहाँले भन्नुभयो, “बिरामीको सङ्ख्या पनि बढ्दै गइरहेको छ ।” अहिले आफैँले यो सेवा प्रदान गरिरहेको समेत उहाँको भनाइ छ ।

कुनै समय सुनसान हुने गरेको आयुर्वेद चिकित्सालयमा अहिले दैनिक १०÷१२ जना आउने गरेको निर्देशक डा ठाकुरले जानकारी दिनुभयो । क्षारसूत्र, पञ्चकर्मलगायतका सेवा थप गरेपछि बिरामीको सङ्ख्या वृद्धि भएको उहाँको भनाइ छ । अहिले दैनिक १०÷१५ ले क्षारसूत्र सेवा लिने गरेका छन्, भने १०÷१५ ले पञ्चकर्माको सेवा लिने गरेको उहाँले बताउनुभयो । “क्षारसूत्र सेवा लिन दैनिक १०÷१५ भन्दा बढी आउनुहन्छ, पञ्चकर्ममा पनि त्यस्तै हुन्छ”, उहाँले भन्नुभयो, “म एक्लै छु, त्यसैले रातिसम्म बसेर सेवा दिने गरेको छु ।”

मध्यपहाडी लोकमार्ग निर्माणको अनुगमन

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका मध्यपहाडी लोकमार्गको निर्माण कार्यको वस्तुस्थित र अवस्थाबारे जानकारी लिन आज आयोजनाको स्थलगत अनुगमन तथा अवलोकन गरिएको छ ।

करीब एक हजार ७५० किलोमिटर लम्बाइ रहेको उक्त लोकमार्गको गोरखा जिल्लाभित्र पर्ने ६४ किलोमिटर सडकखण्डको निर्माणको अवस्था बुझ्न बुधबार प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा लोकमार्गको गोरखा जिल्लाभित्र पर्ने सडकखण्डको निर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको पाइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । “गोरखाभित्र चारवटा खण्डमा विभाजन गरी सडक निर्माण लागि ठेक्का लगाइएकोमा तीनवटा खण्डको काम तीव्रगतिमा अघि बढेको पायौँ”, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो ।

बाँकी एउटा खण्डमा भने सडक डिभिजन कार्यालयअन्तर्गतको पुरानो सडकको ठेक्का कायम रहेकाले मध्यपहाडी लोकमार्गले काम अघि बढाउन नपाएको पाइएको उहाँले जानकारी दिनुभयो । “लोकमार्गको पालुङटार नगरपालिका क्षेत्रअन्तर्गत अन्नपूर्णमा करीब २८ किलोमिटर क्षेत्रमा भने काम शुरु हुन नसकेको पाइयो, उहाँले भन्नुभयो, म तत्काल समस्या समाधानका लागि पहल गरेर काम शुरु गर्न प्रयास गर्छु ।”

प्रमुख जिल्ला अधिकारी श्रेष्ठको टोलीले लोकमार्गअन्तर्गत गोरखा प्रवेशको जिरो किलोमिटर आरुघाट गाउँपालिका–१ स्थित आरुघाटदेखि पालुङटार नगरपालिका–५ स्थित लम्जुङको सिमानासम्मको सडक निर्माणको कार्य प्रगतिको अनुगमन गरेको हो । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सबै खण्डको निर्माणको ठेक्का पाएका ठेकेदार कम्पनीका प्रतिनिधिसँग कार्यप्रगतिको बारेमा जानकारी लिनुभएको थियो ।

“कतिपय स्थानमा भौगोलिक समस्याका कारण निर्माणले सोचेजस्तो गति लिन सकेको रहेनछ”, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो, “नत्र जुन ठाउँमा काम शुरु भएको छ, ती ठाउँको काम छिट्टै भएको रहेछ ।”

उहाँले ठेकेदार कम्पनीका प्रतिनिधिसँग कुन काम कहिलेसम्म सम्पन्न हुन्छ भन्ने जानकारी लिएर समयमा सम्पन्न गर्ने निर्देशनसमेत दिनुभयो । “अनुगमनसँगै काम गर्ने तालिका पनि लिएको छु”, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो, “समयमा काम सम्पन्न गर्न उनीहरुलाई घचघच्याउन आफूले गर्ने भनेको काम समयमा गरेको छ कि छैन भनेर समय–समयमा जानकारी पनि लिनेछु ।” पाँचथर जिल्ला हुँदै बैतडीको झुलाघाटसम्म करीब एक हजार ७५० किलोमिटर लामो सडक निर्माणको काम तीव्ररुपमा अघि बढिरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्