Logo

प्रदेश र स्थानीय तहलाई सङ्घले संविधानअनुसार अधिकार दिनुपर्छ : शर्मा



काठमाडौ, २५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने भएकाले स्रोत साधनयुक्त बनाउनुपर्ने धारणा राखेका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका शर्माले स्थानीय तहमा शिक्षा, स्वास्थ्य र उत्पादन गरी तीन कुरालाई अगाडि बढाएर स्थानीय तहको विकास हुने बताए । उनले प्रदेश र स्थानीय तहलाई सङ्घले संविधानअनुसार अधिकार दिनुपर्ने बताए ।

उनले हिजो उठाएको आवाज आज आफूहरु सरकारमा रहँदा पनि कार्यान्वयन नभएको गुनासो गरे । उनले संविधान लेखिएका कुरा हुबहु नगरेर प्रदेश र स्थानीय तहलाई नदिएर अधिकार कुण्ठित गरेको भन्दै मुलुकलाई समृद्धिमा लैजान संविधान पूर्ण कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा सांसद रामनारायण बिडारी र राधेश्याम अधिकारीले पुस्तकले स्थानीय तहमा रहेको न्यायिक समितिलाई न्याय सम्पादन गर्न सहयोग पुग्ने बताए । पुस्तकका लेखक प्रधानले न्याय समितिलाई मुद्दा छिनोफानो गर्न पुस्तक उपयोग हुने बताए ।

जिल्ला समन्वय समिति पश्चिम रुकुमको आयोजना भएको पुस्तक लोकापर्णमा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र नेपाल बार एशोसिएशन सर्वोच्च अदालतका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले ७७ वटै स्थानीय तहका न्यायिक समितिलाई पुस्तक सहयोगी बन्ने बताए ।

समितिका सदस्य धनवीर ओलीले पुस्तकले आफूहरुजस्ता जनप्रतिनिधिलाई स्थानीय तहको न्याय निरुपण गर्न सहयोग मिल्ने बताए ।

तस्विर ः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्