Logo

हिमपातसँगै तीन सातादेखि मनाङमा ढुवानी ठप्प, खाद्यान्न अभाव



काठमाडौं २७ माघ । तीन सातादेखि सडकमा जमेको हिउँ पन्छाउन नसक्दा मनाङको जनजीवन कष्टकर बनेको छ । हिमपातले सडकमा खसेका ढुंगा, ढालेका रूख पन्छाउन नसक्दा तीन सातादेखि मनाङमा खाद्यान्नलगायत कुनै पनि सामग्री ढुवानी हुन सकेको छैन ।

हिमपातसँगै मनाङमा सवारी आवागमन ठप्प भएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । उनका अनुसार तिमाङ र थान्चोकबीचको स्याक्र्यु खोलानजिकैको सडकमा ठूलो ढुंगा खसेपछि अवरुद्ध भएको छ ।

ढुवानी रोकिएसँगै मनाङमा खाद्यान्न अभाव भएको छ । चामेकी मेलिना गुरुङले बजारमा खाद्यान्न पाउन छाडेको बताइन् । ‘हिउँले बाटो रोकियो । अहिलेसम्म खुलेको छैन । तिमाङबाट यता गाडी आएको छैन,’ उनले भनिन् ।

बेसीसहर–मनाङ सडकखण्डमा सवारी चलाउने सवारीचालक सोम नेपालीले बाटोभरि हिउँ नै हिउँ भएकाले गन्तव्यमा पुग्न नसकेको बताए । उनले भने, ‘मानिस हिँड्नसमेत सकिँदैन । कसरी सामान ल्याउने ?’ बाटो तथा गोरेटोको हिउँ अझै पग्लिएको छैन । हिमपातले मनाङमा ५ फिटसम्म हिउँ जमेपछि सडकमा यातायात चल्न सकेको छैन । धारामा पानी जमेपछि पशुचौपायालाई खुवाउने पानीसमेत अभाव भएको छ ।

सडक कार्यालयले फुटाउन सकेन ढुंगा
स्याक्र्यु खोलानजिक सडकमा खसेको ढुंगा फुटाउन गएका डिभिजन सडक कार्यालय दमौलीका इन्जिनिएरले तत्काल सम्भव नभएको बताएका छन् । हिमपात र पहिरो हटाउन सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिए पनि बुधबारदेखि पुनः वर्षा र हिमपात सुरु भएपछि अन्योल बढेको देवकोटाले बताए  ।

मनाङका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले हिमपातबाट अहिलेसम्म अप्रिय घटना नभए पनि विपद् आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको बताए ।

पानीका मुहान पनि जमे
बुधबारदेखि भएको हिमपातले मनाङका खोलानाला र पानीका मुहान जम्न थालेका छन् । पानी जम्दा खानेपानीको समेत अभाव हुन थालेको प्रजिअ देवकोटाले बताए ।

मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्मका डिएसपी नीलकमल आचार्यका अनुसार चामेदेखि तिमाङसम्मका सडक पूरै हिउँले ढाकेको छ । सडकमा हिँड्न सक्ने अवस्था छैन । सवारीसाधन तत्काल गुड्न सक्ने अवस्था पनि छैन । गाडी नचल्दा मनाङको ङिस्याङ, चामे र नार्पाभूमि गाउँपालिकाका बासिन्दाले सास्ती खेप्नुपरेको छ । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्