चितवन,२७ माघ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रलाई स्वस्थ र मर्यादित नबनाएसम्म खेल क्षेत्रको अपेक्षाकृत विकास र विस्तार हुन नसक्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले खेल क्षेत्रलाई मर्यादित नगरेसम्म नेपाली समाजको गरिमा र प्रतिष्ठानसँगै देशको गरिमा र प्रतिष्ठा जोगाउन गाह्रो हुने बताउनुभयो ।
खेल क्षेत्रमा अहिले जुन ऐतिहासिक विरासत हासिल भएको छ त्यसलाई जोगाउनका लागि पनि खेल क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । खेल सङ्घमा विवाद र समस्या रहेकाले ती विकृतिलाई नष्ट गरेर खेल क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउन कार्य प्रारम्भ गरेको बताउनुभयो ।
विवादमा रहेका सङ्घलाई राष्ट्रिय प्रतियोगितामा सहभागी नगराउने नीति मन्त्रालयले लिएको बताउँदै उहाँले सङ्घमा भएका विवाद समाधान गरेर खेल क्षेत्रको विकास गरिनेछ भन्नुभयो ।
भरतपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका विषयमा सरकारले सकारात्मक रुपमा हेरिरहेको बताउँदै उहाँले भन्नुभयो, “सरकारी, निजी र गैरसरकारी क्षेत्रमा भएका स्रोत साधनको परिचालन गरेर संरचना निर्माण गर्ने कुरालाई सकारात्मक ढङ्गबाट लिनुपर्छ ।”
धुर्मुस–सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माणका लागि गरेको घोषणा खेलका संरचना निर्माण गर्ने दिशातर्फ एउटा सकारात्मक कदम भएको उहाँको भनाइ छ । सबै स्थानीय तहमा एउटा÷एउटा खेल ग्राम निर्माण गर्ने कार्ययोजनाका साथ स्थानीय खेल पूर्वाधार निर्माण कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएको मन्त्री विश्वकर्माले जानकारी दिनुभयो ।रासस