काठमाडौं, २८ माघ । काठमाडौं महानगरपालिकाले काठमाडौं वडा नम्बर-५ स्थित् धनगणेश मन्दिरको पुनःनिर्माणको लागि तीन करोड रुपैयाँ प्रदान गर्ने भएको छ ।
उक्त मन्दिरको पूननिर्माणको लागि महानगरपालिकाले आज डिपिआर पनि सार्वजनिक गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवम् प्रदेश नम्बर ३ का सदस्य नारायण सिलवाल र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उक्त डिपिआर आज एक कार्यक्रमकाबीच सार्वजनिक गरेका हुन् ।
महानगरका प्रमुख शाक्यले ऐतिहासिक सम्पदाको पुननिर्माणका लागी महानगरले सहयोग गर्ने बताए । उनले तोकिएको समयमा नै सम्पन्न गर्न सरोकारवालाहरु प्रतिवद्ध हुनुपर्ने भन्दै काम गर्दा आउने समस्यालाई समाधानको बाटोतर्फ अघि बढाउनुपर्ने बताए ।
उनले नेपालमा धार्मिक पर्यटकको संख्या बढाउनपनि ऐतिहासिक सम्पदाको मौलिक ढंगले निर्माण हुनुपर्ने जनाए । सार्वजनिक गरिएको डिपिआरमा मन्दिर निर्माणका साथै पाटी शौचालय, बिश्राम स्थल ,फाउन्टेनलगायत छन् ।
त्यस्तै कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य नारायण सिलवाले नेपालमा धार्मिक पर्यटकको संख्या बढाउनपनि ऐतिहासिक सम्पदाको मौलिक ढंगले निर्माण हुनुपर्ने जनाए।
सांसद सिलवालले हिजो देखिएको धनगणेश मन्दीरको मौलिकतालाई पछ्याउँदै संरक्षण गरिने प्रतिवद्धता व्यक्त गरे। उनले अहिलेको डिपिआर अन्तिम नभएको भन्दै छलफलका लागि सजिलो होस् र पुरातात्विक विभागसँग र स्थानीय जनताहरुसँग समन्वय गर्दै काम अगाडि सार्ने जानकारी दिए।
सांसद सिलवालले धनगणेश मन्दिर छायाँमा परेको हुँदा यही समाजले मौलिक र सुन्दर ढंगले परिमार्जित गरी प्रचार–प्रसार गर्दै यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा लौजानुपर्ने धारणा राखे।
कानपा वडा नं ५ का अध्यक्ष रमेश डंगोलले धनगणेश मन्दीरको पुनःनिर्माणमा देखिएका केही विवादित विषयहरुलाई समाज मैं बसेर मिलाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
तस्विर : मुकुन्द कालिकोटे