पोखरा,२८ माघ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासनबाटै सुशासन कायम गर्न सकिने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले आयोगले कानून अनुरुप यो वा त्यो नभनी शुद्ध आचारणका साथ आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने आवश्यकता औंँल्याउनुभयो ।
गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले प्रत्येक राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्वलाई आत्मसात गरी काम गर्न सके मात्र जनताले अपेक्षित सुविधा पाउने धारणा राख्नुभयो ।
आयोग पोखरा कार्यालय प्रमुख काशीराज दाहालले भ्रष्टाचार नियन्त्रणमा सबैको साथ र सहयोग अपरिहार्य हुने धारणा राख्नुभयो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व उपाध्यक्ष आनन्दराज मुल्मीले भ्रष्टाचाररहित समाजको निर्माणका लागि आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । रासस